logo-img

चीनले हस्तान्तरण गरिसकेको पोखरा विमानस्थलको निर्माण कार्य अब कति बाँकी ?

पोखरामा निर्माण भइरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलकाे चाबी हस्तान्तरण गरेका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चाबी खड्कालाई दिए । नेपालको तीन दिने भ्रमणमा रहेका यीको उपस्थिति भएको अवसर पारेर निर्माण कम्पनीले विमानस्थल सरकारलाई सुम्पिएको हो ।

विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ । ‘मेजर काम पूरा भयो । तर सबै काम सकिएको होइन’, आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने, ‘सांकेतिक रूपमा चाबी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन।’ 

उनले चाबी हस्तान्तरणपछि पनि निरन्तर काम भइरहने बताए । खासगरी डेकोरेसन, फिनिसिङ लगायतका काम बाँकी छ । 

प्रधानमन्त्री निवासमा चाबी हस्तान्तरणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भने, ‘अब पोखरा र नेपालको विकासको ढोका खुल्यो । यो विमानस्थल बनेर मात्र हुँदैन,सकेजति प्रयोग गर्नुस् ।’

पर्यटन व्यवसायीहरूलाई लगानी बढाउन र तारे होटल थप्न उनको आग्रह छ ।



चिनियाँ निर्माण कम्पनी सिएएमसिईका अध्यक्ष ली आइसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताए । 

उनले भने, ‘विगत केही वर्षको मेहनतपछि पोखरेली जनताले दशकौंदेखि प्रतिक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै सञ्चालनमा ल्याइनेछ । विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्नेछ ।’



२२ मे २०१४ मा सिएएमसिईले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । अप्रिल २०१६ मा शिलान्यास भएको थियो । तर, लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान एक वर्ष लाग्यो । २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर सञ्चालनमा ल्याउन लागिएको छ ।

पोखरा विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो । तर, तीन हजार मिटरको धावनमार्ग रहेको भैरहवा विमानस्थलको लागत सात अर्ब मात्रै लागेकोले पोखराको एयरपोर्ट महंगो भएकोमा धेरैको चिन्ता र चासो देखिन्छ ।

आउँदो १० जुलाईमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको १० जुलाईमै हस्तान्तरण गर्ने तयारी गरिएकोमा कोरोना संक्रमणका कारण एक वर्ष ढिलो भएको हो । 

विमानस्थलबाट आगामी वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर, त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । निर्माण कम्पनीले चाबी हस्तान्तरण गरेपछि नेपाल सरकारले कम्पनीलाई कदरपत्र दिएको छ ।

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार ११:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया