logo-img

चिनियाँ विदेशमन्त्रीसँगको भेटमा ओलीले उठाए सीमानाकादेखि  बीआरआईसम्मका विषय

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । तीनदिने नेपाल भ्रमणमा शुक्रबार आएका विदेशमन्त्री यीले आज आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीसँग काठमाडौंको एक होटलमा भेटघाट गरेका हुन् । 

भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरूलाई तत्काल अघि बढाउन आग्रह गरे । भेटमा बीआरआई अन्तर्गतका आयोजनाहरू सडक, सिँचाइ, रेल, जलविद्युत् र सीमानाका बनाउने कुराहरूमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए । 

‘अहिले पछिल्लो कालमा बीआरआईसँग जोडिएर जुन आयोजनाहरू अघि बढाउनुपर्‍यो भनेर सुरु गरेका छौँ । सहमति गरेका छौँ । ती कुराहरूलाई निरन्तरता दिनुपर्छ । तिनीहरूलाई छिटोभन्दा छिटो कम्प्लिट गर्नुपर्छ । जसबाट नेपालले फाइदा लिनसक्ने स्थिति छ । त्यसभित्र पर्ने रोडका प्रोजेक्टहरू, रेलका आयोजनाहरू, सिँचाइका आयोजनाहरू, जलविद्युत् उत्पादनका आयोजनाहरू, नाकाहरू निर्माण गर्ने आयोजनाहरू, स्वास्थ्यको क्षेत्रमा उहाँहरूले गर्ने स्वास्थ्यका आयोजनाहरू, शिक्षाको क्षेत्रका आयोजनाहरू यी सबै पक्षमा छिटोअघि बढाइदिँदा नेपालको जुन एउटा आकांक्षा छ, समृद्ध नेपाल सुखी नेपाली बनाउने, त्यो आकांक्षा पूर्तिमा चीनको सहयोग उल्लेख्य रहँदै आएको छ । त्यसमा थप योगदान पुग्नेछ भन्ने कुरा राख्नुभयो,' उनले भने । 

उनले भेटमा अध्यक्ष ओलीले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरू खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीलाई लैजान र हुम्ला पारी अलपत्र परेका करिब ५ सय जना नेपालीलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गरेका थिए । 

'अर्को एउटा विषय हुम्ला भन्दा पारी करिब ५ सय जना नेपाली अलपत्र परेको सूचना आएको छ । यद्यपि, त्यो सूचना सही कति हो भन्ने कुरा पनि अध्ययन होस्, यदी त्यसरी नेपाली अड्किएर रहेको स्थिति हो भने उनीहरूलाई आउने व्यवस्था मिलाइयोस्, भन्ने कुरा भए । अरू हिमालय मल्टी डाइमेनिस्नल रिलेशनको एउटा रणनीतिक उद्देश्यका साथ अघि लैजाने भन्ने छ, त्यसलाई अघि बढाउनका लागि पनि भ्रमण फलदायी रहनेछ भन्ने कुरा भयो,' उनले भने । 

त्यस्तै, हिमालय मल्टी डाइमेनिस्नल रिलेशनको एउटा रणनीतिक उद्देश्यका साथ अघि लैजाने कुरालाई पनि अघि बढाउने कुरामा पनि छलफल भएको छ । भेटमा चिनियाँ विदेशमन्त्री यीले तत्काल गर्नुपर्ने समस्या समाधान र दीर्घकालीन रूपमा बीआरआईमार्फत अघि बढाइएको आयोजनाहरूमा चीन प्रतिवद्ध रहेको जानकारी दिएको पनि विभाग प्रमुख भट्टराईले बताए । उनले छलफलमा चीनले नेपालसँग गरेको सहमती र सम्झौता पुरानै प्रतिबद्धताअनुसार नै अघि बढाउने विदेशमन्त्री यीले जानकारी दिए । 



'चिनियाँ परराष्ट्रमन्त्रीका तर्फबाट तपाईंले उठाउनु भएका तत्काल समाधान गर्नुपर्ने विषयहरू र दीर्घकालीन रूपमा बीआरआईमार्फत र अरू सहमतिमार्फत अघि बढाइएको आयोजनाहरू चीन सरकार छिटोभन्दा छिटो तिनीहरूलाई कार्यान्वयनमा लैजान र कोभिड महामारीविरुद्धमा जुन सहयोग गरेका छौँ, सबै कुरामा चीनको पुरानो प्रतिवद्धताअनुरूप निरन्तरता दिनेछौँ भन्ने कुरा आयो,’ उनले भने ।

तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएका मन्त्री यी आज नै स्वदेश फर्किने कार्यतालिका रहेको छ । यसअघि मन्त्री यीले शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा र आज आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका छन् ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १५:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया