logo-img

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा, रहस्य गर्भमै

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगेको छ । १९ जेठ २०५८ को बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो ।

शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमलगायत पनि मारिएका थिए ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैंलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् ।

२०६२/६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार ७:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया