logo-img

गेटा मेडिकल कलेज : भौतिक पूर्वाधार तयार, मोडालिटीबारे अझै अन्योल
फाइल तस्वीर

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा करिब साढे ४ अर्बको लागतमा अस्पताल, कलेज, छात्रावास, आवासलगायत ३५ वटा आधुनिक भवनहरू निर्माण भइसकेका छन् । 

५१ हेक्टर क्षेत्रमा निर्माण गरिएका उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसँगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारले लक्ष्य लिएको थियो ।

तर, सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा ‘कैलालीको गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै रकम विनियोजन नगरेको र सञ्चालनको जिम्मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दिने घोषणा’ गरेपछि स्थानीय स्तरमा विरोध भइरहेको छ । 

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा १७० मा भनिएको छ– बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पताल तथा गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइने छ । 

त्यस्तै, सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको बुँदा १०८ मा भनिएको छ– प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइने छ । सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ । 

आव २०५६/५७ बाट चर्चा सुरु भएको र आव २०६७/६८ बाट निर्माण प्रक्रिया अघि बढेको भए पनि अहिलेसम्म गेटा मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले कुनै ठोस नीतिगत प्रबन्ध गरेको छैन । 



आव २०५६/५७ भारतको काञ्चिकामकोटी पीठका जगतगुरु जयन्द्र सरस्वती शंकराचार्य नेपाल भ्रमणमा आएका बेला उनले कैलालीको गेटामा ‘शंकराचार्य आयुर्विज्ञान प्रतिष्ठान’ को शिलान्यास गरेका थिए । उनकै लगानीमा केही संरचना पनि बन्यो, तर त्यसपछिका दिनमा त्यो चर्चा सेलायो । 

२०६३ मा कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको सन्दर्भ पारेर सरकारसामु ‘सुदूरपश्चिमको समृद्धिका लागि २१ बुँदे माग’ प्रस्तुत गर्दा गेटा मेडिकल कलेजलाई प्राथमिकताका साथ समावेश गरिएको थियो । निरन्तरको दबाबपछि सरकारले आव २०६७/६८ को बजेटमा थोरै बजेट विनियोजन गर्‍यो । 



पहिलो संविधानसभाको अन्त्यतिर यसलाई ‘दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का रूपमा अघि बढाउन विधेयक मस्यौदा गरियो । तर, सदन विघटनसँगै यो विधेयक अलपत्र पर्‍यो । 

आर्थिक वर्ष २०७३/७४ मा नेपाल सरकारको बजेटमा भनिएको थियो– कैलालीको गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण र सञ्चालनका लागि ४८ करोड रुपैयाँ छुट्याएको थियो । 

स्थानीय, स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञहरू सबै सकेसम्म गेटालाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने र यदि तत्काल सम्भव नभए कम्तीमा स्वायत्त संस्थाका रुपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने बताउँदै आएका छन् । 

गेटा मेडिकल कलेज सञ्चालनका लागि अत्तरियामा गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेय भन्छन,– ‘हामी मेडिकल विश्वविद्यालय नै हुनुपर्छ भनिरहेका छौँ । सम्भव भएन भने कम्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनैपर्छ ।’ 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा पनि मेडिकल कलेज छैन । न त जटिल खालको रोग लाग्दा उपचारका लागि काठमाडौं, नेपालगञ्ज, चितवन वा भारतका अस्पताल धाउनुपर्ने बाध्यता नै हटेको छ ।

प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय नै बनाउनुपर्ने यहाँका सरोकारवालाहरुको जोड रहेको छ । 

धनगढीको सेती अस्पतालका पूर्वमेसु डा. गणेशबहादुर सिंहले प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गर्दा सबैभन्दा उपयुक्त हुने बताए । 

उनले मेडिकल कलेज सानो युनिट भएकाले यसलाई अन्य विश्वविद्यालयको नियन्त्रणमा चलाउनुभन्दा छुट्टै मेडिकल विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गरिनुपर्ने सुझाएका छन् ।

‘यसलाई जुन मोडालिटीमा सञ्चालन गरे पनि अस्पताल भने आवश्यक हुन्छ । यसका लागि दबाब पनि दिन आवश्यक छ,’ उनले भने, ‘सरकारले तदारुकता देखाए मेडिकल विश्वविद्यालय पनि १ महिनामा सञ्चालनमा ल्याउन सकिन्छ ।’ 

उनले सरकारले ल्याएको बजेटले कुन मोडालिटीमा सञ्चालन गर्न खोजेको हो भन्ने बारेमा झन अन्योल भएको बताए ।

‘हामीले कहिले पनि मेडिकल कलेज माग गरेका थिएनौँ । २०६८ सालमा पनि मेडिकल कलेजको परिकल्पनाअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान माग गरिएको थियो,’ उनले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि विश्वविद्यालयजस्तै हुन्छ । प्रतिष्ठानमा राजनीति खेल मैदान बन्न सक्ने भएकाले यसलाई विश्वविद्यालयमा लैजान सबैभन्दा बढी उपयुक्त हुन्छ ।’ 

उनले विश्वविद्यालय मोडालिटीमा सञ्चालन गर्न सके यो नेपालको पहिलो मेडिकल विश्वविद्यालय हुने बताए ।

सेतीका चिकित्सक डा. प्रदीप मिश्र पनि गेटा मेडिकल विश्वविद्यालय बनाउनु पर्नेमा बताए । 

उनले मोडालिटीबारे गठन भएका सबैजसो समितिले प्रतिष्ठान वा विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गरिनुपर्ने प्रस्ताव पेश गरेको भए पनि अहिले सरकारले ल्याएको बजेटले झन् दोधार गरेको बताए ।

उनले अस्पताल सञ्चालन गर्ने भन्ने विषय राम्रो भए पनि सञ्चालनको मोडालिटीबारे भने स्पष्ट नभएकाले अझै यसका लागि संघर्ष र बहस गर्न आवश्यक भएको बताए ।

नागरिक समाजका प्रमोद पाठकले गेटामा तत्काल अस्पताल सञ्चालन गरी गेटा मेडिकल विश्वविद्यालयका रूपमा अगाडि बढाइनु पर्ने बताए । 

‘सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सकेमा भारतमा उपचारका लागि जाने समस्या हट्छ,’ उनले भने, ‘मेडिकल विश्वविद्यालयको तयारी हुँदै गर्दा तत्काल अस्पताल चलाउँदै गरौं ।’ 

उनले तिव्र गतिमा यसको काम अगाडि बढाउनका लागि संघर्ष समितिले काठमाडौंमै गएर दबाबका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका अर्थविद् डा. राजेन्द्र चन्दले भने तत्काल मेडिकल कलेज बनाएर पछि विश्वविद्यालयमा रूपान्तरण गर्न सकिने बताए । 

उनले मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त भए पनि तत्काल त्यो सम्भव नभए अन्य विश्वविद्यालयको मातहतमा रहने गरी मेडिकल कलेज सञ्चालन गरेर पछि विश्वविद्यालय बनाउन सकिने बताए ।

‘सुरुमा महेन्द्रनगरमा विश्वविद्यालय र गेटामा मेडिकल कलेज बनाउने कुरा आएको हो,’ उनले भने, ‘यसलाई हाल जुन मोडालिटीमा लगे पनि तत्काल हस्पिटल सञ्चालन हुन आवश्यक छ ।’ 

उनले प्रतिष्ठानभन्दा विश्वविद्यालय उपयुक्त भएको र प्रतिष्ठान र विश्वविद्यालयमा खासै अन्तर नरहेको बताए ।

शिक्षाविद् शिवहरी दत्त मुडभरीले प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत राख्नको लागि उक्त विश्वविद्यालयमा मेडिकल डिपार्टमेन्ट नै नभएको बताए । उनले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनमा कुनै दुविधा राख्न नहुने बताए । 

‘राज्यलाई कन्भेन्स गरेर यसलाई फास्ट ट्रयाकमा लगेर सञ्चालन गर्न आवश्यक छ,’ उनले भने, ‘त्योभन्दा अगाडि तत्काल हस्पिटल भने सञ्चालन गरिनुपर्छ ।’

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख प्राडा. जगतबहादुर सिंह रावलले सरकारले स्थानीयको धारणा नलिई कुनै पनि निर्णय लिन नहुने बताए । 

‘जुन मोडालिटीमा गए पनि सेवा गुणस्तर कसरी कायम गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक छ’ उनले भने ‘यसलाई कुन मोडालिटीमा लग्ने भन्ने विषयमा यस क्षेत्रको माटो सुहाउँदो निर्णय गर्नुपर्छ ।’

उनले प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालय अन्तरगत नै संचालन गर्ने भए सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत राखे यस क्षेत्रको गौरव बढ्ने बताए ।

  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १५:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया