logo-img

गेटा मेडिकल विश्वविद्यालय सञ्चालनका दबाबका लागि निःशुल्क स्वास्थ्य शिविर

कैलालीको गोदावरी नगरपालिका–मा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनका लागि स्थानीयहरु निरन्तर लागेका छन् । मंगलबार मेडिकल सञ्चालनार्थ संघर्ष समितिले निःशुल्क शिविर सञ्चालन गरेको छ ।

गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले सेवा दिए । 

मेडिकल कलेजको गेटमै विभिन्न अस्पतालको सहयोगमा शिविर सञ्चालन गरेका हो । सरकारले मेडिकल कलेज संचालनकालागी ढिलाइ गर्ने आशंका गरेको हुँदा स्थानीयहरु निरन्तर आन्दोलनमा छन् ।

संघर्ष समितिका समितिका संयोजक लोकराज पान्डेय (आगो)ले अब मेडिकल विश्वविद्यालय बनाउने भनेर मोडालिटी समेत प्रस्ट भइसकेको हुँदा सरकारले तुरुन्तै अस्पताल सञ्चालन गरिनुपर्ने बताए । उनले सरकारले यो या त्यो बहानमा मेडिकल सञ्चालनका लागि ढिलाइ गर्दै आएको बताए ।

‘अस्पतालले यस आर्थिक वर्षभित्र तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएको थियो’, उनले भने, ‘तर, बेवास्ता गर्दै आएको छ । यसमा सरकार गम्भीर हुन आवश्यक छ ।’ 

उनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई थप ध्यानाकर्षण गराउने बताए । असार ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी आउने कार्यक्रम रहेकोले सोही दिन ज्ञापनपत्र बुझाउने उनले बताए ।



संघर्ष समितिका समितिका उपसंयोजक आनन्द भट्टले अस्पताल सञ्चालन नहुँदासम्म आफुहरुको आन्दोलन जारी रहने बताए । ‘सुदूरपश्चिमको लागि लाजमर्दो कुरा भएको छ । मेडिकल विश्वविद्यालय सञ्चालका लागि पूर्वाधार निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन सकेको छैन ।’



गेटा मेडिकल कलेजलाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने भन्दै निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । पदमा, माया मेट्रो, सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिकलगायत संस्थाको सहयोगमा गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले विश्वविद्यालयको गेटमा मंगलबार सो शिविर गरेको हो ।

निर्माणाधिन गेटा मेडिकल कलेजका भौतिक संरचना तयार भइसकेका छन् । सरकारले यसलाई सञ्चालनमा ल्याउन भने ध्यान दिन नसकेको भन्दै विभिन्न चरणमा संघर्षका कार्यक्रम जारी रहेको छ । 

यसअघि हस्ताक्षर अभियानसँगै राजमार्ग अवरुद्ध, प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रलगायत संघर्षका कार्यक्रम गरिएको थियो ।

पूर्वाधार निर्माण कार्य ९० प्रतिशत सम्पन्न

३५ वर्षपहिले सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनको काम अघि बढेको भए पनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन । ०४४ सालमा मेडिकल कलेज बनाउने भन्दै जग्गा किनेका शंकराचार्यले ०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरेपछि सरकार उक्त योजनामा सहभागी भयो । 

सरकारले शंकराचार्यले स्थापना गरेको ट्रस्टलाई मेडिकल कलेज सञ्चालन गर्ने भन्दै सोही ठाउँमा ७७ बिघा जग्गा दिएको थियो ।

प्रस्तावित गेटा मेडिकल कलेजका लागि ठूला भवन निर्माण गरिएका छन् अहिले । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ । 

चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको उनले बताए । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासलगायत संरचना निर्माणको काम सकिएको छ ।

‘चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रावासका भवनहरु निर्माणको काम थालेको छ । ६ वटा छात्रावास भवन निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षबाट मेडिकल कलेजभित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गर्छौं ।’ 

६ सय शय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको पुजाराले जानकारी दिए । यसका साथै अन्य २७ वटा भौतिक संरचना निर्माणको काम पनि सकिएको छ ।

खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढल तथा पानी निकास, विद्युतको सबस्टेसन निर्माणलगायत काम भने बाँकी छ । अहिले आफूहरू विद्युतको सवस्टेसन निर्माणको काममा लागिरहेको पुजाराले बताए । 

उनले मेडिकल कलेज चलाउन मिल्नेगरी संरचना निर्माण भइसकेको जानकारी दिए । सरकारले जग्गा उपलब्ध गराएको लामो समयपछि ०६५ सालमा पहिलो पटक गेटा मेडिकल कलेजका नाममा एक करोड बजेट विनियोजन गरेको थियो । त्यसपछि पनि लामो समयसम्म बेवास्ता गरिएको गेटा मेडिकल कलेज आर्थिक वर्ष ०७३/०७४ बाट भने निर्माण सुरु गरिएको थियो ।

भौतिक संरचना निर्माणको काम सकिन लाग्दा पनि प्रस्तावित मेडिकल कलेज कुन मोडलमा चलाउने, कहिले चलाउने भन्ने अन्योल छ । सुदूरपश्चिमको गौरव र मानव स्वास्थ्यसँग जोडिएको स्वास्थ्यमा राजनीति भइरहेको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १८:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया