logo-img

करणको घातक बलिङमा ओमानमाथि नेपालको फराकिलो जित

आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । 

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । आसिफले ८६ बलमा सात चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, कुशलले ७५ बलमा पाँचसहित ५६ रनको योगदान दिए ।

देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल (अविजित) ले २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट सात रन बनाए ।  त्यसअघि टेक्सासको मोसा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो । उसका लागि कप्तान जीशान मक्सूदले ५२ रन र सन्दीप गौडले ४७ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा करण केसीले पाँच विकेट लिए । ९ ओभरमा ३३ रन दिएका उनले ओमानको महत्वपूर्ण पाँच विकेट लिएका हुन् । एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भए । उनले जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध पनि पाँच विकेट नै लिएका थिए ।  

कप्तान सन्दीप लामिछानेले तीन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे । जितसँगै २ अंक जोडेको नेपाल लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नामिबियालाई पछि पारेको नेपालले १५ खेलबाट १५ अंक जोडेको छ । नेपालले अहिलेसम्म १५ खेलमध्ये सातमा जित र सात खेलमा हारको सामना गरेको छ । नेपालले एक खेल भने बराबरी खेलेको छ ।  
 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार ६:२४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया