logo-img

गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा धनगढीको देउवा निवासमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिले गेटा मेडिकल कलेजलाई तत्काल ३ सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने र मेडिकल विश्वविद्यालय स्थापनार्थ तत्काल संसदमा विधेयक ल्याई लागू पर्नुपर्ने माग राखेको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय शैयाको अस्पताल सञ्चालनमा आउने बताए । यस्तै प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय बनाउनका लागि पनि प्रक्रिया अगाडि बढाइने बताए ।

अहिले गेटा मेडिकल कलेजका लागि ठूला भवन निर्माण गरिएका छन् । मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको छ । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासलगायत संरचना निर्माणको काम सकिएको छ ।

६ सय शय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ ।  खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढल तथा पानी निकास, विद्युतको सबस्टेसन निर्माणलगायत काम भने बाँकी छ । सरकारले जग्गा उपलब्ध गराएको लामो समयपछि ०६५ सालमा पहिलो पटक गेटा मेडिकल कलेजका नाममा एक करोड बजेट विनियोजन गरेको थियो । 

त्यसपछि पनि लामो समयसम्म बेवास्ता गरिएको गेटा मेडिकल कलेज आर्थिक वर्ष ०७३/०७४ बाट भने निर्माण सुरु गरिएको थियो । भौतिक संरचना निर्माणको काम सकिन लाग्दा पनि प्रस्तावित मेडिकल कलेज कुन मोडलमा चलाउने, कहिले चलाउने भन्ने अन्योल छ । 





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार ८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया