logo-img

जनसंगठन प्रमुखलाई निर्देशन दिँदै ओलीले भने - एमालेलाई कसैको बैसाखीको आवश्यकता छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ वटा जनसंगठनका प्रमुखहरूसँग छलफल गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले जनसंगठन प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन् ।

जनसंगठन संयन्त्रको आयोजनामा २२ वटै जनसंगठनका अध्यक्षहरूसँग पार्टी अध्यक्ष ओलीसहितको बैठक बसेको हो । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थिति र नेकपा एमाले र जनसंगठनको भूमिकाबारे प्रशिक्षणसमेत दिएका थिए ।

आउँदो निर्वाचनमा एक्लै पहिलो पार्टी हुने अध्यक्ष ओलीको दाबी थियो। त्यसका लागि विचार र सशक्त संगठन निर्माण गर्न सबै एक जुट हुन उनले निर्देशन दिएका थिए । 

त्यस्तै, उनले एमालेलाई कसैको बैसाखीको आवश्यकता नरहेको बताएका थिए । उनले मृत्युवाण प्रहार गर्ने माधव नेपालको औचित्य समाप्त भइसकेको जिकिर गरे । 

'दुई-दुई पटक पार्टी फुटाउँदासम्म कार्यकर्ता सबै एक भएर बचाएको पार्टी हो एमाले । एमालेलाई कसैको बैसाखीको आवश्यकता छैन । मृत्युवाण प्रहार गर्ने माधव नेपालको औचित्य समाप्त भइसकेको पुष्टि भइसक्यो,' उनले भनेका थिए । 

उनले दुई-दुई पटक पार्टी फुटाउँदासम्म कार्यकर्ता एक भएर एमालेलाई जिकिर गर्दै जनसंगठन प्रमुखलाई अझै सशक्त भएर अगाडि बड्न निर्देशन दिए ।



ओलीको यो सम्बोधनअगाडि नेकपा एमाले सम्बद्ध विभिन्न जनसंगठनका प्रमुखहरुले आआफ्नो जनसंगठनको विषयमा बिफ्रिङ पनि गरेका थिए ।

बैठकमा अनेम संघबाट थममाया थापा, प्रेस चोतारीबाट गणेश बस्नेत, भूमिहिन सुकुम्बासीबाट शान्ता चौधरी, भूपू प्रहरी सैनिकबाट विनोेद पाण्डे, नेपाल खेलकुद महासंघबाट कृष्ण बस्नेत (पर्शुराम)ले बिफ्रिङ गरेका थिए ।



बैठकमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले अहिले खेल क्षेत्रले केपी ओली नेतृत्वको सरकारको समयमा भन्दा निकै निराशा महसुस गरेको बताए । 

‘अहिले खेल क्षेत्रका साथीहरुले केपी ओली नेतृत्वको सरकार र अहिलेको सरकारको तुलना गर्दै आफूहरु टुहुरो भएको आभास गरेको बताउन थालेका छन्,’ उनले भने, ‘यो सरकारले खेलकुद क्षेत्रमा बजेट मात्र घटाएको छैन, खेल क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम पनि ल्याएको छैन ।’

उनले पार्टीले अब आफ्ना गतिविधि तथा विभिन्न क्रियाकलाप वा प्रतिवेदन तथा योजनाहरुमा खेलकुद क्षेत्रलाई समेटेर अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको पनि बताए । ‘हामीले अब पार्टीका मूलभूत अजेन्डामध्ये खेलकुद क्षेत्र पनि एक हो भनेर अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘पार्टीले आफ्ना योजनाहरु बनाउँदा पनि अब खेलकुद क्षेत्रलाई समेटेर अगाडि बढ्नु पर्छ ।’

बस्नेतले नेपाल खेलकुद महासंघको नेतृत्व सम्हालेपछि बारम्बार तीनै तहका सरकारलाई खेलकुद क्षेत्रप्रति थप जिम्मेवार र गम्भीर बन्न अनुरोध गर्दै आएका छन् ।

त्यस्तै उद्याेग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवाले पनि अहिलेकाे सरकारका कारण उद्याेग तथा व्यवसाय क्षेत्र पूर्णरुपमा निराश भएकाे बैठकमा बताएका थिए ।

 

  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १९:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया