logo-img

राजधानीमा आजदेखि पाँचौँ राष्ट्रिय मह मेला
फाइल तस्बिर

‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ आजदेखि राजधानीमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ हुने भएको छ । मह उत्पादन र खपत बढाउनका लागि व्यापकरूपमा सर्वसाधारणसम्म सूचना प्रवाह गर्ने उद्देश्यले मह मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरू बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजना र नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सह-आयोजना पाँच दिने मेला आयोजना गरिएको हो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए । 

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए । परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पुर्‍याउने मह र यसको उपयोगितालाई सबै सामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ । 

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र अल्मलिएको बताइन् । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासङ्घ सहकार्य गर्न तयार रहेको बताए । मेलामा उत्पादक बिक्रेता र उपभोक्तालाई एउटै छानामुनी भेट्न सकिने छ । गुणस्तरीय नेपाली महका बारेमा जानकारी लिन दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।



मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम् प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । 

भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ । 



  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार ६:५८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया