logo-img

युरोकप सेमिफाइनल : इंल्याण्डलाई स्वीडेनको चुनौती

घरेलु टोली इंग्ल्याण्डले आज युरोकपको पहिलो सेमिफाइनलमा स्वीडेनको सामना गर्दैछ । खेल सेफिल्डस्थित ब्रामल लेनमा नेपाली समयअनुसार राति पौन १ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सदाबार दाबेदारको रूपमा हेरिने इंल्याण्डले हालसम्म उपाधि भने हात पार्न सकेको छैन । उसले यसअघि १९८४ र २००९ मा फाइनलसम्म यात्रा तय गरेको थियो । 

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको इंल्याण्ड घरेलु मैदानको फाइदा उठाउँदै तेस्रोपटक फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ । तर, उसलाई स्वीडेनविरुद्ध जित हात पार्न त्यति सहज भने हुने छैन । 

सन् १९८४ को विजेता तथा १९८६, १९९५ र २००१ को उपविजेता स्वीडेन पनि इंल्याण्डलाई स्तब्ध पार्दै पाँचौँपटक युरो फाइनल खेल्ने प्रयासमा हुनेछ । स्वीडेनविरुद्ध मैदान उत्रिदा इंल्याण्डलाई झस्काउने कुरा हो यो टोलीसँगको उसको इतिहास । विगतलाई हेर्ने हो भने स्वीडेनविरुद्ध इंग्ल्याण्ड निकै कमजोर देखिएको छ । 

दुई टोलीबीच अहिलेसम्म भएका २६ खेलमध्ये इंग्ल्याण्डले तीन खेलमा मात्र जित हात पारेको छ । स्वीडेनसँग ऊ १५ पटक पराजित भएको छ । इंग्ल्याण्ड जर्मनीविरुद्ध सर्वाधिक २१ खेलमा पराजित भएको छ । त्यसपछि उसको खराब प्रदर्शन भनेको स्वीडेनविरुद्ध नै त हो । यसले पक्कै पनि टोलीका खेलाडी तथा समर्थकलाई झस्काउँछ । 

युरोकपकै मात्र कुरा गर्दा पनि अहिलेसम्मका सात भेटमा इंग्ल्याण्डले एकैपटक मात्र जित हात पार्न सकेको छ । इतिहास जे जस्तो भए पनि इंल्याण्डले पछिल्लो समय उत्कृष्ट फुटबल पस्किरहेको छ । यसको श्रेय जान्छ मुख्य प्रशिक्षक सरिना वेगमनलाई ।



वेगमन नै इंग्लिस टोलीको सबैभन्दा ठूलो शक्ति बनेकी छन् । उनलाई राम्रोसँग थाह छ कुन टोलीविरुद्ध कुन खेलाडीलाई कस्तो समयमा मैदान उतार्ने । 

अघिल्लो संस्करण नेदरल्यण्ड्सलाई युरोपियन च्याम्पियन बनाएकी उनी यसपटक पनि त्यसलाई दोहोर्‍याउने प्रयासमा हुने छिन् । इंल्याण्डविरुद्ध हाबी बनिरहेको स्वीडेन र वेगमनको रणनीतिमा उत्कृष्ट फुटबल खेलिरहेको इंग्लिस टोलीबीचको सेमिफाइनल भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।



यस्तो छ दुवै टोलीको सेमिफाइनलसम्मको यात्रा

इंल्याण्ड

आयोजक इंल्याण्डले क्वार्टरफाइनलमा स्पेनमाथि २–१ को रोमाञ्चक जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको उसले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो । 

समूह चरणको पहिलो खेलमा अस्ट्रियालाई १–० ले हराएको इंग्ल्याण्डले दोस्रो खेलमा नर्वेलाई ८–० तथा तेस्रो खेलमा नर्दन आयरल्याण्डलाई ५–० ले पराजित गर्‍यो । सेमिफाइनलसम्मको यात्रा तय गर्दा घरेलु टोलीले १६ गोल गर्दा मात्र एक गोल बेहोरेको छ ।  

स्वीडेन

स्वीडेन क्वार्टरफाइनलमा बेल्जियममाथि १–० को कठिन जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘सी’ को विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको उसले समूह चरणमा दुई जित र एक बराबरीको नतिजा निकालेको थियो । 

समूह चरणमा नेदरल्याण्ड्ससँग १–१ बराबरी खेलको स्वीडेनले स्विट्जरल्याण्डलाई २–१ तथा पोर्चुगललाई ५–० ले पराजित गरेको थियो । उसले सेमिफाइनलसम्मको यात्रा तय गर्दा नौ गोल गर्दा दुई गोल बेहोरेको छ । 

  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार ११:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया