logo-img

विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि स्थगित विराटनगरको ऐतिहासिक रथयात्रा यसपटक निकाल्ने तयारी गरिएको छ । विराटनगरमा यसपटक निकाल्न लागिएको एसियाकै दोस्रो ठूलो रथ यात्राको सम्पूर्ण तयारी पूरा हुँदैछ । 

त्यसका लागि आज रथयात्रा आयोजक समितिले प्रशासनिक निकायसँग  छलफल गरेको छ । आज बिहान बसेको बैठकमा शान्ति सुरक्षा, रथयात्राको रूट साथै सडकमा रहेको विद्युत प्राधिकरणका तार, केवल तार, साथै टेलिकमका तार हटाउने विषयमा छलफल भएको छ ।

प्रशासनले सुरक्षा र रुट परिवर्तनको क्षेत्रमा सहयाेग गर्ने छलफल भएको मन्दिर व्यवस्थापन समितिका सदस्य सदस्य कृष्ण कार्कीले जानकारी दिए । विगतका वर्षहरुमा रथयात्रा तीनजैनीस्थित राधा कृष्ण मन्दिर तीन पैनीबाट रथयात्रा निस्की, गोल्छा चोक, ट्राफिक चोक, हिमालय रोड, महेन्द्र चोक, शनि मन्दिर, विजुली अफिस, मुनालपथ, बरगाछी हुँदै पुनः मन्दिरमा पुगेर सम्पन्न हुने गरेको थियो । तर, यसवर्ष भने रुट परिवर्तन भएको छ । 

यसपटक हिमालय रोड संरचना निर्माणले साँघुरो भएकाले सो सडक छाडेर रथलाई रोडशेष चोकबाट बसपार्क, महेन्द्र चोक, शनि मन्दिर, बिजुली अफिस, मुनालपथ, बरगाछी हुँदै परिक्रमा गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

समितिका अनुसार यसवर्ष हुन गइरहेको रथ यात्रामा केही स्वरूप परिवर्तन गरिनेछ । यसवर्ष को रथयात्रा झाकीरहित हुनेछ । तर, भक्तजनको मागअनुसार परम्परागत रूपमै रथलाई डोरीले तानिने छ । जसकारण भक्तजनले डोरी छुन सक्ने छन् ।

कोरोना महामारी सुरु हुनु अघिका वर्षसम्म आयोजकले महिला र पुरुष गरी पाँच सय स्वयम् सेवक परिचालित गरेको थियो । तर, यस वर्ष भने दुई सयको संख्यामा मात्र स्वयंसेवक रहने जनाइएको छ । 



प्रशासनको तर्फबाट यसवर्ष पनि सुरक्षाका निम्ति बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने छ । रथयात्रामा कुनै पनि गलत गतिविधि, आपराधिक कृयाकलाप र अप्रिय अघना हुन नदिने शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । 

आयोजकले कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष मास्क स्यानिटाइजर वितरण गरिने सदस्य कार्कीले जानकारी दिए । रथयात्राको रुट ९ किलोमिटर रहनेछ । 



रथयात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट बर्सेनि निकालिँदै आएको छ । यो वर्ष आगामी ४ भदौमा रथयात्रा निस्कने छ । रथयात्रामा नेपाल–भारतका लाखौँ भक्तजनको सहभागिता हुने गरेको छ । 

  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १३:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया