logo-img

एन्फालाई एएफसीले लगायो सात हजार अमेरिकी डलर जरिवाना

एसियाली फुटबल महासंघ (एएफसी)ले  सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको छ। 

गत १ असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटअन्तर्गत इन्डोनेसियाविरूद्धको खेलमा नियमविपरीत काम गरेको भन्दै एन्फालाई जरिवाना गरिएको हो। 

एएफसीको अनुशासन समितिले आज जरिवाना गर्ने निर्णय सार्वजनिक गरेको हो। एएफसीले नेपाललाई दुई छुट्टाछुट्टै शीर्षकमा जरिवाना गरेको हो। दुवै जरिवाना प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण भएको छ। 

इन्डोनेसियाविरूद्धको तेस्रो खेलका दौरान अलमुताइरी नेपालको ड्रेसिङ रुममा छिरेको र मैदानमा समेत प्रवेश गरेको भन्दै नेपाललाई जरिवाना गरिएको हो। 

अलमुताइरीलाई जोर्डन र कुवेतविरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध थियो। तर ,उनी प्रतिबन्ध बेवास्ता गर्दै नेपालको ड्रेसिङ रुम तथा मैदानमा समेत पुगेका थिए।

यसका लागि एएफसीले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गरेको छ। जसमा १५ सय डलर ९० दिनभित्र तिर्नुपर्नेछ भने ४५ सय डलर दुई वर्षका लागि रोक्का गरिनेछ। 



तर, त्यस्तै खालको गल्ती दोहोर्‍याए एन्फाको यो रकम जफत हुनेछ भने थप जरिवाना समेत लाग्नेछ। 

एएफसीले एन्फालाई थप एक हजार डलर जरिवाना गरेको छ। जसमा नेपाली टिम इन्डोनेसियाविरुद्धकै खेलमा पहिलो हाफमा ढिलो मैदान छिरेकोमा दोषी देखाइएको छ।



एक हजार डलरमध्ये २५० डलर ९० दिनभित्र बुझाउनुपर्नेछ। ७५० डलर दुई वर्षसम्म रोक्का हुनेछ। दुई वर्षभित्रमा यस्तै गल्ती गरे ७५० जफत हुनेछ र थप जरिवाना समेत हुनेछ।

७ हजार डलरको जरिवाना खेप्न परेको इन्डोनेसियाविरूद्धको सो खेलमा नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। इन्डोनेसियासँगको सो हार नेपालको तीन वर्षयताकै खराब प्रदर्शन थियो। 

अलमुताइरी हाल बिदामा छन्। जसका कारण एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ। हुमागाईंले आगामी महिना बंगलादेशविरूद्ध हुने मैत्रीपूर्ण खेलमा नेपालको नेतृत्व गर्नेछन्।

  • प्रकाशित मिति : भदौ १३, २०७९ साेमबार १७:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया