logo-img

सरकार उदासीन भएकाे भन्दै चिकित्सक संघको भर्त्सना, शुक्रबार देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय

काठमाडौं– नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षार्थ सरकाले कुनै चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले घोर भर्त्सना गरेको छ । संघले देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थामा सञ्चालन गरेको रिलेअनसन लगायतका कार्यक्रमलाई बेवास्ता गरिएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको संघले जनाएके छ ।

‘सत्याग्रहको २३औँ दिन भइसक्दा समेत नेपाल सरकारले डा. केसीको जीवन रक्षाका निम्ति कुनै पनि चासो व्यक्त नगर्नु, हाम्रो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पुर्याउने कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ,’ बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

डा. केसीको स्वास्थ्यमा गम्भीर असरहरू देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै संघले सरकारको निष्क्रिय कदमप्रति मर्माहित भएको जनाएको छ । नेपाल चिकित्सक संघले मिति २०७५ माघ १८ गते शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  

संघले आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने आन्दोलनका कार्यक्रमबाट आमसर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गर्दै अझौ कडा कदम चाल्ने परिस्थिति सिर्जना नगर्न नेपाल सरकार समक्ष माग गरेको छ । 

संघको आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनुपर्ने चेतावनी संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १७:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया