logo-img

सुदूरपश्चिमबाट उम्मेदवार बन्नेहरूमा अधिकांश पुरानै अनुहार

सुदूरपश्चिममा प्रमुख राजनीतिक दलहरूले पुरानै नेताहरूलाई मैदानमा उतारेको छन् । प्रमुख राजनीतिक दलहरूले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेले केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा पुरानै नेतालाई उम्मेदवार बनाएका छन् । 

प्रदेश सभामा दोहोरिन चाहेर उम्मेदवारी दर्ता गराउनेमा मन्त्री, पूर्व मन्त्रीदेखि संसदीय समितिका सभापति, प्रमुख सचेतक, प्रदेश सभा सदस्यहरू रहेका छन् । एकीकृत समाजवादी पार्टीकै इन्चार्ज समेत रहेका दीर्घबहादुर सोडारीले कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘१’ बाट उम्मेदवारी दर्ता गराई प्रदेश सभामा दोहोरिने तयारी गरिरहेका छन् । उनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री समेत हुन् ।

पूर्व सामाजिक विकास मन्त्री समेत रहेका लालबहादुर खडकाले एकीकृत समाजवादी पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाटै कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘१’ नेपालु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी प्रदेश सभामा विद्यायन तथा प्रदेश मामिला समिति सभापति पनि थिए ।

बैतडी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘२’ मा नेकपा एमालेबाट लिलाधर भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक समेत बनिसकेका छन् ।
२०७४ सालमा बाम गठबन्धनबाट नेकपा एमालेबाट उम्मेदवार बनेर कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित बनेका थिए रतन थापा । २०७९ सालको निर्वाचनमा पार्टीको विधान विपरीत कार्य गरेको भन्दै पार्टीले अनुशासनको कारबाही गरेपछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । अब हुने प्रदेश सभा निर्वाचनमा उनले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका रणबहादुर रावलले आइतबार टीकापुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रदेश सभामा उम्मेदवारी दर्ता गराए । उनले कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका नेकपा माओवादी केन्द्रका मान बहादुर धामीले दार्चुला क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’, सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले डडेल्धुरा प्रदेश १ क्षेत्र नम्बर २, आर्थिक मामिला राज्यमन्त्री प्रकाश रावलले कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेश सभा ‘१’, पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउदले कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा ‘२’ बाट उम्मेदवारी दर्ता गराएका छन् ।



प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रका अक्कल लबहादुर रावलले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ‘१’ र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ‘१’ मा उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा प्रत्यक्ष विजयी भएका सुदूरपश्चिम प्रदेश सभाका ३२ प्रदेश सभा मध्य यस पटकको निर्वाचनमा  १३ जना प्रदेश सभाकै लागि पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिनिधिसभामा पनि पुरानै अनुहार
चुनावी मैदानमा उत्रिएका पुराना नेतालाई यस पटकको चुनावमा साख जोगाउने चुनौती छ । शीर्ष नेतामध्ये केहीलाई आफ्नै पार्टी र गठबन्धनको चुनौती छ भने धेरैलाई नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 



नेकपा एमालेले सुदूरपश्चिमको १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये ०७४ को चुनावमा जितेका ८ जनालाई दोहोर्याएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट ०७४ मा जितेका नारदमुनि राना यस पटक पनि उम्मेदवार बनेका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा ०७४ मा जितेका एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट, निर्वाचन क्षेत्र नम्बर ३ मा गौरीशङ्कर चौधरी, २ मा झपट रावल उम्मेदवार छन् । ०७४ को दार्चुलामा चुनाव जितेका गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर २ मा नरबहादुर धामी र अछाम १ मा यज्ञ बोगटीलाई उम्मेदवार खडा गरेको छ ।

यस्तै, एमालेका अन्य उम्मेदवारहरूमा कोही ०७४ मा प्रदेश सभा जितेका छन् भने कोही समानुपातिकबाट सांसद बनेका नेता छन् । बझाङमा अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर र कैलाली १ मा तपेन्द्र रावललाई एमालेले ‘डेब्यु’ गराएको छ । कञ्चनपुर १ मा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, कञ्चनपुर ३ मा निवर्तमान सांसद निरुदेवी पाल, अछाम १ मा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री झपट बोहरा, बाजुरामा स्थायी कमिटी सदस्य कर्णबहादुर मल्ल र डोटीमा गौरी ओली एमालेबाट उम्मेदवार छन् । सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र पाएको माओवादी केन्द्रले पनि नयाँ नेतालाई उम्मेदवार बनाएको छैन ।

माओवादीले कञ्चनपुर १ मा ०७४ को चुनाव जितेकी पूर्व मन्त्री बिना मगर, बैतडीमा संविधानसभा सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर), कैलाली २ मा संविधानसभा सदस्य भगत बडुवाल र कैलाली ३ मा कृष्ण चौधरीलाई उम्मेदवार बनाएको छ । यस्तै, गठबन्धनमा प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र पाएको नेकपा एकीकृत समाजवादीले डोटीमा ०७४ एमालेबाट जितेका प्रेमबहादुर आले, अछाम १ मा श्रम मन्त्री शेरबहादुर कुँवर र बझाङमा पूर्व मन्त्री भानुभक्त जोशीलाई उम्मेदवार बनाएको छ । 

सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले सुदूरपश्चिमका ९ प्रतिनिधि सभा क्षेत्रमध्ये अधिकांशमा पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट ७ औँ पटक निर्वाचन लड्दै छन्। 

दार्चुलामा ०७४ मा समानुपातिकतर्फ लागेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडू, कञ्चनपुर २ मा पूर्व मन्त्री एनपी साउद र कञ्चनपुर ३ मा रमेश लेखकलाई उम्मेदवार बनाइएको छ। यस्तै, कैलाली ४ मा पूर्व मन्त्री वीरबहादुर बलायर, कैलाली १ मा पूर्व मन्त्री रामजनम चौधरी, बाजुरामा सह महामन्त्री बद्री पाण्डे, अछाम २ मा पुष्पबहादुर शाह र कैलाली ५ मा डिल्लीराज पन्तलाई कांग्रेसले चुनावी मैदानमा छन् । 

  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार ७:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया