logo-img

मतपेटिका कसरी साटिन्छ भन्ने तरिका नजानी पद सकिन्छ कि भन्ने डर छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राखेका हुन् । आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्याउँदै उनले आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढतासमेत व्यक्त गरे । 

सेक्युरिटी कोडका आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टीकरण थियो । उनेले भने, ‘मैले करिब ४० वर्षदेखि सार्वजनिक क्षेत्रमा काम गर्दै आएको छु । मेरो अनुभवले अहिले आएर हेर्दाखेरि यो मतपेटिका कसरी साटिँदो रहेछ भन्ने तरिका जान्दै नजानिकन मेरो यो पद सकिन्छ कि भन्ने मलाई डर छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको समेत बताए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि उनले अनुरोध गरे । 

निर्वाचन आयोगले निर्वाचनमा करिब १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एकजना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको बताए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १७:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया