logo-img

अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख आयुक्त थपलियाको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । 

सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्यालगायत दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन् । 

लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै उनले घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए । निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनी दिए । 

नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै उनले यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुरा राख्न नहुनेतर्फ मात्रै आमनागरिकहरुको ध्यानाकर्षण गराएको बताए । 

सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताउँदै उनले अध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आमनागरिकलाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन सुझाब दिए । 



पछिल्लो समय निर्वाचन आयोगले आचारसंहीता कडाइ गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा सम्पन्न गर्न कलाकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले कलाकारहरुलाई निर्वाचनसम्बन्धी सूचना प्रचारप्रसार गरिदिन आग्रह गरे । 

कलाकारहरुले आचारसंहिताको उल्लंघन नगर्ने कुरामा आयोग विश्वस्त रहेको बताँदै उनले लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पुनः एकपटक निर्वाचन अभियानको सडकमा कलाकारलाई देख्न पाउने आशामा आयोग रहेको स्पष्ट पारे । 



प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई उदाहरणीय बनाउनका लागि कलाकारहरुले आयोगका सूचनाहरु नागरिकसमक्ष प्रवाह गर्ने कुरामा सहयोगको ठूलो अपेक्षा राखेको बताए । 

आसन्न निर्वाचनमा वृद्धवृद्धा, रोगी, शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहजताका लागि पनि उचित व्यवस्था मिलाएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १६:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया