logo-img

विप्लवलगायतलाई प्रमुख निर्वाचन आयुक्तको चेतावनी : हामी मेसिनगन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनुस्

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन् । बुधबार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताए । 

आयोग निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपी मेसिनगन बोकेर मैदानमा खटेको बताउँदै उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे । 

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै उनले निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिए । निर्वाचनको महाअभियानमा अब सबै सरिक भई महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।
 
निर्वाचनको विरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलप्रति लक्षित गर्दै उनले खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भए पनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताए । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संसदीय समितिले १५ दिनअघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेपनि आयोगले भने तीन दिनअघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको उनले बताए । यसमा युवाहरुले आयोगको आग्रहलाई आमनागरिकसमक्ष सचेत गराउनुपर्ने उनको भनाइ छ । 

हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले युवाहरुले पराजित भएका उम्मेदवारहरुलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभई त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसात गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको उनको भनाइ थियो । 

कार्यक्रममा युवाहरुले निरक्षर मतादाहरुमा मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै उनीहरुले निर्वाचन केन्द्र अपांगतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरुको लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए । 



उनीहरुले युवाहरुलाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए । युवाहरुले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १८:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया