नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा लुम्बिनीले आइतबार विराटनगर सुपर किंग्सलाई ३ रनले हरायो । 

विराटनगरले भने लिगमा हारबाट सुरुवात गर्‍यो । आफ्नो पहिलो खेलमा लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि हुसेन तलतले ३९, रोहित पौडेलले २५, पृथु बाँस्कोटाले १८, सिकन्दर राजाले १७, विवेक यादवले १३, कप्तान आन्द्रे म्याककार्थीले अविजित १० र अर्जुन साउँदले १० रन बनाए । लुम्बिनीका लागि किशोर महतोले दुई, गुल्शन झा, कप्तान दीपेन्द्र सिंह ऐरी, प्याट ब्राउन र सागर ढकालले एक/एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि ओपनर तथा विकेटकिपर लाहिरु मिलन्थाले उत्कृष्ट पारी खेले ।

लगातार दोस्रो अर्धशतकीय इनिङ खेल्ने क्रममा उनले आज ६३ बलमा पाँच चौका र चार छक्कासहित अविजित ८० रन बनाए । पहिलो खेलमा मिलन्थाले ६० रनको पारी खेलेका थिए । त्यस्तै, कुशल भुर्तेलले २६ र कप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । विराटनगरका लागि नन्दन यादव, हुसेन तलत, सिकन्दर राजा, साहब आलम र आन्द्रे आन्द्रे म्याककार्थीले एक/एक विकेट लिए । 



लगातार दोस्रो जितका साथ लुम्बिनीले चार अंक जोडेको छ । उसले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो । 



  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १२:५२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया