रामकुमारी झाँक्रीलाई लक्षित गर्दै माधव नेपालले भने– पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने नगराैँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

मंगलबार सम्पन्न पार्टीको पोलिटब्युराे बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न सिंगाे पार्टी पंक्तिलाई सचेत गराए । 

उनकाे साे भनाइ पार्टी सचिव रामकुमारी झाँक्रीप्रति लक्षित थियाे । केही दिनअघि झाँक्रीले एक टेलिभिजन अन्तरवार्तामा पार्टी अध्यक्ष नेपालकाे कार्यशैलीका कारण पार्टी किनारामा परेकाे बताएकी थिइन् । उनले एमाले अध्यक्ष केपी शर्मा वलीले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएकाे भन्दै प्रशंसा गरेकी थिइन् ।

अध्यक्ष नेपालले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने भन्दै बैठकमा स्मरण गराएका थिए । 

अध्यक्ष नेपालले भने, 'जे–जे लागेको छ कमिटीमा राखौँ । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरू बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि हामी अनुशासन तोड्ने, फेरि हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाइँ बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैँ ठूलो हुने तरिका बन्द गरौँ ।’

अध्यक्ष नेपालले पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेकोसमेत बताए । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १७:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया