बावुमाको शतकमा दक्षिण अफ्रिकालाई एक खेल अगावै सिरिज

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २–० ले जितेको हो । 

पहिलो खेलमा दक्षिण अफ्रिका २१ रनले विजयी भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाले ३ सय ४३ रनको लक्ष्य ४९.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि कप्तान तेम्बा बावुमाले शतकीय पारी खेले ।

१०२ बलको सामना गरेका उनले १४ चौका र एक छक्कासहित १०९ रन बनाए । एकदिवसीयमा बावुमाको यो तेस्रो शतक हो । त्यस्तै, डेविड मिलरले ३७ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा अविजित ५८ रनको पारी खेले । एडन मार्कमले ४९, रस्सीभानडर दुसेनले ३८, क्विन्टन डिककले ३१, मार्को जेनसनले अविजित ३२ र हेनरिक क्लासेनले २७ रनको योगदान दिए ।

इंग्ल्याण्डका लागि आदिल राशिद, ओली स्टोनले दुई/दुई र साम कुरानले एक विकेट लिए । त्यसअघि ब्लोमफोन्टेनस्थित ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४२ रन बनायो । उसका लागि कप्तान जोस बटलरले उत्कृष्ट पारी खेले ।

८२ बलको सामना गरेका उनले आठ चौका र तीन छक्काको मद्दतमा अविजित ९४ रन बनाए । त्यस्तै, ह्यारी ब्रुकले ७५ बलमा सात चौका र चार छक्काको सहयोगमा ८० रनको इनिङ खेले । 

मोइन अलीले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए । साम कुरानले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २८ रनको आक्रामक पारी खेले । बेन डकेटले २०, क्रिस वोक्सले १४ र डेविड मलानले १२ रन जोडे ।  



दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजे, एडन मार्कम, वेन पार्नेल, केशव महाराज, मार्को जेन्सन र लुंगी एन्गिडीले एक/एक विकेट लिए । यो जितसँगै सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । दक्षिण अफ्रिका–इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार हुनेछ । 



  • प्रकाशित मिति : माघ १६, २०७९ साेमबार ७:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया