logo-img

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाअध्यक्षहरूले लगाए ताला

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले ताला लगाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाअध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन् । 

वडा नम्बर १ का वडाअध्यक्ष दिलीप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताए । 

उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौँ । समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौँ ।’ 

उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमुना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भएपनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाई खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् ।



 

वडाअध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए । 



उनले अहिले कार्यपालिकाका दुई तिहाइ सदस्य उनीहरूको यस्तो कार्यको विरोधमा रहेको बताए ।
 

  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १५:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया