ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई एक विकेटले हराउँदै मधेशले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सरस्वती चौधरीले ३२, ओपनर अलिशा यादवले १६ र सीमा कुँवरले १५ रन बनाइन् ।
ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले दुई/दुई, कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनायो । उसका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३, र श्रृष्टि जैसीले अविजित १५ रन बनाए ।
मधेशका लागि सरस्वती कुमारीले दुई, रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले एक/एक विकेट लिए । जितसँगै मधेशले फाइनल पुग्ने झिनो आशा कायमै रहेको छ । ललितपुर भने लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।