चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गरेका छन् । 

चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रियादबीचको वैमनस्यातापूर्ण सम्बन्धलाई पुनः स्थापना गर्न चिनियाँ पक्षबाट भएको सफल प्रयासको संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय समुदायले बेइजिङको सराहना गरेका थिए । 

यमन युद्धलाई लिएर इरान र साउदीबीच मनोमालिन्य थियो । लामो समयदेखिका कटु प्रतिद्वन्द्वी इरान र साउदी यमन युद्धलाई लिएर ‘प्रोक्सी’ द्वन्द्वको शृङ्खलामा थिए । 

साउदी राजकुमारसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले रियाद–तेहरान कूटनीतिक सम्बन्ध पुनः स्थापना भएसँगै पारस्परिक सहायता प्रवद्र्धका साथै क्षेत्रीय एकता र सहयोग सुदृढीकरणमा सशक्त भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । 

राजकुमार मोहम्मदले दुई पक्षबीच छिमेकीसँग सुसम्बन्ध विकास गर्ने प्रयासलाई समर्थन गर्ने चिनियाँ पहलको लागि साउदी अरबका तर्फबाट चिनियाँ पक्षको प्रशंसा गरे ।

साउदी अरब र इरानले अब एक अर्काको राजधानीमा दूतावास पुनः खोल्ने तयारी गरिरहेका छन् । पवित्र महिना रमजानको अन्त्य हुनु अघि दवै देशका शीर्ष कूटनीतिज्ञहरूबीच  बैठक हुने साउदी सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।



साउदी अरबका साथै  इरानले पनि द्विपक्षीय सम्बन्ध पुनः स्थापनामा जनवादी गणतन्त्र चीनको नेतृत्व र सरकारले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेको छ । 

आफ्नो एक दशकको सत्ता यात्रामा राष्ट्रपति सीको सक्रिय भूमिकाका कारण इरान र साउदी एकै स्थानमा जुट्न भएको सम्झौतालाई कूटनीतिक विश्लेषकहरूले विश्व मामिलामा सीको लागि ठूलो सफलता भनेका छन् ।  



  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १५:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया