logo-img

साना व्यवसायीको प्रतिनिधित्व बढाउने गरी काम गर्छु : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद बहाली ग्रहण गरेका छन् । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पद बहाली ग्रहण गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । 

ढकालले गत बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । ढकालले गत बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए पनि आइतबार मात्रै अध्यक्षको पद बहाली गरेका हुन् । 

अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्न सक्छ भन्ने उदाहरण आफैँ भएको बताए । उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने बताए । अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताका साथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्न सक्ने बताए । उनले कतिपय व्यवसायीहरूलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातावरण बनाउन सकिँदैन तबसम्म व्यावसायिक गतिविधिहरू बढ्न सक्दैनन्,’ उनले भने, ‘त्यसैले सरोकारवाल पक्षहरू सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने तयारी छ । सरकार र नीजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यावसायिक गतिविधिहरू बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासंघको अध्यक्षको हैसियतले पहल गर्नेछु ।’

उनले महासंघको नेतृत्वमा रहँदासम्म पाँच काम गर्ने प्रतिबद्धता गरे । उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताए । उनले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातावरण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरू सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए । उनले  सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍यो भने मात्रै व्यावसायिक गतिविधिहरू बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाए । 

उनले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए। उनले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए । 



उनले भने, ‘नेपालमा प्रत्येक वर्ष ५ लाख जनशक्ति बाहिर आइरहेको छ । त्यो जनशक्ति मध्ये धेरै वैदेशिक रोजगारीको लागि जाने गरेको छ । नेपालमा धेरै जनशक्तिको खाँचो छ तर नेपालमा दक्ष जनशक्ति तयार हुन सकेको छैन । वैदेशिक रोजगारीमा जाँदा पनि अर्ध जनशक्तिका रूपमा वैदेशिक रोजगारीमा जाने गरेको छ । महासंघले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछु । निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण छ । त्यो दृष्टिकोण परिवर्तन गर्नेछु । मैले पहिलो दिन उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिँदै गर्दा के लागेको छ भन्दा म एउटा गाउँबाट आएको सानो व्यवसायी,व्यवसाय नै नभएको शून्य व्यवसाय भएको व्यक्ति पनि नेपालभरका व्यवसायीहरूको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ । जसले इमान्दारीताका साथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो भने स्वाभाविक रूपमा सानो व्यवसायले पनि महासंघको नेतृत्व लिन सक्छ भन्ने म आफैँ उदाहरण छु । कतिपय व्यवसायीहरूलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने लागको छ । तर म सानो व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु ।’ 



  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १३:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया