logo-img

व्यास हिमपहिरो : यार्सागुम्बा संकलनमा गएकाहरू बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल पुरिएको छ । 

यार्सागुम्बा संकलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए । उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ । 

‘हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनि मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भने । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ छ । 

हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा संकलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । 

‘केही संकलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ,’ डिएसपी भट्टले भने, ‘यार्सागुम्बा संकलक स्थानीयबाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।’ खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए । 

संकलक केही दिनअघि यार्सागुम्बा संकलनका लागि लेकतर्फ उक्लिएका व्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताए । 
 





  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार १९:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया