कृषिमा क्रान्ति भए मात्र देश विकास हुन्छ : उपेन्द्र यादव

पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिवी र बेरोजगारीको अन्त्य हुने बताएका छन् ।

राजविराजमा आइतबार मधेस कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बिएस्सीएजीको पठनपाठन शुभारम्भ कार्यक्रममा उनले विश्वका विभिन्न मुलुकहरू कृषिकै कारण समृद्ध भएको तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न नसकेको बताए । 
    
उनले नेपालमा बर्सेनि ४ खर्बको खाद्यान्नलगायत सामग्री आयात हुनु दुःखद् हो भन्दै परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने धारणा व्यक्त गरे । अध्यक्ष यादवले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

‘किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवं रोजगारमूलक बनाउनुपर्छ,’ उनले भने, ‘कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।’

जसपा अध्यक्ष यादवले शिक्षाको स्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समेत जोड दिए । मधेस प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षासमेत सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘अब कृषिसम्बन्धी अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।’ 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ६:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया