logo-img

एन्फाले रकम नदिएसम्म खेलाडी रिलिज नगर्ने १० क्लबको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ले पाउने रकम उपलब्ध नगराउँदासम्म असन्तुष्ट १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई रिलिज गर्ने जनाएका छन् ।

बिहीबार बसेको १० क्लबको बैठकले एन्फाबाट पाउनुपर्ने आर्थिक सहयोग नपाएको भन्दै आफ्ना खेलाडीलाई राष्ट्रिय क्याम्पका लागि रिलिज नगर्ने जनाएका हुन् । यस्तै, क्लबहरुले जेठ १९ गतेपछिका लिग खेलमा विरोधस्वरूप टोलीका खेलाडी तथा पदाधिकारी कालोपट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए । 

बैठकमा तीन विभागीय र जावालखेल युथ क्लबबाहेका अन्य क्लबका पदाधिकारीको उपस्थिति थियो । उनीहरुले लिखित रूपमा सहमति जुटाएका हुन् । 

सहिद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदै छ । त्यसलगत्तै एन्फाले खेलाडीलाई भारतमा आयोजना हुने साफ च्याम्पियनसिपको क्याम्प राख्ने निर्णय गरेको छ । शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपका लागि मंगलवार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेंग्लुरुमा हुँदै छ । साफअगाडि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
 
साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउँदै छन् । फिफाको प्रतिबन्धका कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेका छन् ।





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १८:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया