logo-img

सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयो : ढकाल
फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिए पनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताउँदै  लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए । अध्यक्ष ढकालले साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको बताए । 

उनले लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको बताए । उनले निजी क्षेत्रका फाइलहरू सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए ।

‘हामीलाई प्राप्त प्रकृतिले नै दिएका अथाह सम्भावनाहरूमा लगानीका लागि सरकारले लगानीकर्ताहरूलाई आग्रह गर्दछ । तर हामी लगानीकर्तासँग भने कतिपय तीता अनुभवहरू पनि छन् । निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन’, उनले भने, ‘हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभए पनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले त्यत्ति नै सताइरहेको छ । मौलाकाली केबलकारको कागजी प्रक्रिया मिलाउन धेरै समय लाग्यो । साना कुरामा पनि क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन । यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ । यो समग्र निजी क्षेत्रको समस्या हो । लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ ।’

रुपन्देहीलाई लुम्बिनी प्रदेशकै आर्थिक राजधानी बनाउने जनताको चाहनालाई लुम्बिनी केबलकारले पूरा गर्ने विश्वास रहेको बताए । चीन र भारतको जनसङ्ख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउन सके पर्यटक खोज्न भौतारिनु नपर्ने उनले बताए । नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिने विश्वास उनले व्यक्त गरे । 

बुटवल–पाल्पाको लुम्बिनी केबलकारले नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्ने अध्यक्ष ढकालले बताए । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने उनले बताए ।  





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १८:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया