नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले १९ वर्षपछि प्राध्यापन पेसालाई निरन्तरता दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएका हुन् ।
डा.रिजालले मध्यबानेश्वरमा रहेको आफ्नै स्वामित्वको एपेक्स कलेजमा पढाउन थालेका हुन् । ‘सुखद अनुभव, १९ वर्ष पछि नियमित रुपमा पढाउन थाले,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब हरेक आइतबार बिहान ८ः१० बजे एपेक्स कलेजमा पढाउनेछु।’
नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवार रहेका रिजालले निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको खटपटका कारण उनले गत मंसिरमा सम्पन्न निर्वाचनमा टिकट पनि पाएनन् । लामो समयसम्म जिम्मेवारीविहीन बनेका उनलाई एक महिनाअघि मात्रै देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
अन्य विकसित मुलुकमा राष्ट्रपति वा प्रधानमन्त्री आफ्नो कार्यकाल सकिएपछि पुरानै पेसामा फर्कने गरेका थुप्रै उदाहरण पाइन्छन् । नेपालको सन्दर्भमा भने बिरलैले पुरानो पेसा अपनाएको पाइन्छ । रिजाल तिनै बिरलैमध्येका एक भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।