logo-img

विज्ञ भन्छन्- उच्चस्तरको अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति असम्भव

कृषि विज्ञहरूले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरूले देशमा सेन्टर अफ एक्सलेन्सको रूपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । 

विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरूको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्ररूपमा क्रान्ति गरेको बताए । बुधबार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताए ।

उनले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए ।  

‘कृषि इन्स्टिट्यसशन हरेक देशमा मैले देखेको छु  । सेन्टर अफ एक्सलेन्सको रूपमा इन्स्टिट्युशनहरू जहाँ छन्, त्यहाँ उनीहरूले कृषिमा कसरी प्रगति गरेको छ, त्यो कुरा मैले देखेको छु । नेपालमा एउटा कृषि अनुसन्धानको सेन्टर फर एक्सलेन्स जस्तै एउटा इन्स्टिट्युट हुनुपर्छ,’ पूर्वकार्यकारी निर्देशक जोशीले भने, ‘त्यो नभएसम्म र त्यसले फंग्शन गर्न नपाएसम्म देशको कृषिको विकास हुन सक्दैन । सेन्टर फर एक्सलेन्स इन एग्रिकल्चर रिसर्च भन्नेकुरा चाहिन्छ । त्यो हुँदैन भने त्यो देशको कृषिमा वाञ्छनीय प्रगति हुन सक्दैन । आत्मरतिको लागि मात्रै भन्नेकुरा हुन्छ ।’

उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे । उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए ।   

‘नार्कको यो अवस्था किन भयो, जुन अवस्थामा अहिले नार्क छ । यसको मुख्य कारण हो, भ्रष्टाचार, नार्कमा व्यापक भ्रष्टाचार छ । कसैलाई राम्रो लाग्ला वा नलाग्ला भ्रष्टाचार व्यापक छ । नार्कको काममा आर्थिक चलखेल त छ नै व्यापक छ । अर्कोथरी भनेको त्यहाँ सरुवा, बढुवा, नियुक्तिमा पनि भ्रष्टाचार हुने गरेको छ,’ पूर्वकार्यकारी निर्देशक जोशीले भने ।  



कार्यक्रममा समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए । उनले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताए ।  

‘रिसर्च कुन अवस्थामा गइरहेको छ । डाइब्याकको कुरा आयो, डाइ ब्याक मात्रै भइरहेको छ, निकट भविष्यमा अनुसन्धान डाइ नै हुने हो ? यो गम्भीर कुरा छ । आजसम्म किन नार्क राम्रो भएन ? किन विवादमा आइरहन्छ ? अटोनोमस चाहिन्छ नार्कमा यो मान्छु म । कुनै बेला म मान्दिनँ थिएँ । अब आउने नीतिमा यसमा अझै संघर्ष ठूलो गर्नुपर्ने हुन्छ । नीति नियमले नार्क चल्नुपर्छ । नार्कमा जहाँ, जसले जे गरे पनि भएको छ,’ डा. गौतमले भने ।  
 
उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए ।  



  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १४:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया