logo-img

खानीखोला गाउँपालिकामा ‘निःशुल्क अनिवार्य शिक्षा’ लागू

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ । 

गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा पुर्याइएपछि खानीखोलालाई निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

उनका अनुसार उमेरगत बालबालिका शतप्रतिशत विद्यालय गएका छन् । कार्यक्रमअन्तर्गत चालु शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका ७२ बालबालिकालाई शिक्षामा पहुँच पुर्याइएको हो ।

गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणाका लागि शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडास्तरमा शिक्षाको युनिट परिचालन गरिएकाले अब सबै विद्यालयको शिक्षा निःशुल्क हुने जनाइएको छ ।

नेपालको संविधानमा शिक्षालाई मौलिक हक र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क पाउने प्रावधानअनुरूप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको हो ।  

जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका यही असार पहिलो साता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको छ । 



सरकारको आउँदो २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने योजना छ ।

अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापतको रकम लिन पाउने छैनन् । रासस 



  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार ८:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया