logo-img

चार क्लबको बहिष्कारका कारण यु–१६ युथ लिग संकटमा

नेपालको फुटबल र विवाद ? आजकाल यो दुई शब्द नै पर्यायवाची हुन् कि भन्ने आमनेपाली फुटबलप्रेमीलाई लाग्न थालिसकेको छ । नलाग्नु पनि किन ? नेपाली फुटबलको विकास गर्ने उद्देश्यअनुरूप नै बनेको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विवाद नै विवादमा घेरिइरहन्छ । नेपाली फुटबल कुनै न कुनै घटनाले विवादमा नपरेको महिना नै हुँदैन ?

कहिले एन्फाभित्रको आन्तरिक द्वन्द्व त, कहिले खेलभित्रकै विवाद । यी सबै कुराले नेपाली फुटबललाई पिरोलिरहन्छ । महिला वा पुरुषको खेल नहुँदा होस् वा सञ्चालन भइरहँदा पनि त्यो कुनै न कुनै किसिमले विवादमा तानिन्छ । पहिलोपटक सुरु भएको एन्फा यु–१६ युथ लिग पनि त्यसबाट अछुतो रहन सकेन । गत हप्तादेखि नै सुरु भएको युथ लिगको दोस्रो चरणकै खेल जारी रहँदा सहभागी १० क्लबमध्ये चार क्लबले नै शनिबारका खेल बहिष्कार गरेपछि नयाँ विवाद सिर्जना भएको हो ।

कुल १० टोलीले प्रतिस्पर्धा गरेको लिग आगामी ६ महिनासम्म चलाउने योजनासहित एन्फाले सुरु गरेको हो । तर, सुरु भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेण्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन् । जसको कारण शनिबार तय भएका खेल नै हुन सकेनन् ।

शनिबार मनाङले मच्छिन्द्रसँग, फ्रेण्ड्सले त्रिभुवन आर्मी क्लबसँग र एनआरटीले एफसी खुमलटारसँग खेल्ने तालिका थियो । यद्यपि, एन्फाले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै यी क्लबले खेल नै बहिष्कार गरे । एनआरटीले १६ वर्षभन्दा माथिका खेलाडी खेलाएको भन्दै एन्फाले कारबाही गरेपछि विवाद उत्पन्न भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । विवाद उत्पन्न भएपछि समाधानको प्रयास गरिए पनि क्लबका कारण सम्भव नभएको दाबी गरे । 

मनाङसँगको खेलका लागि मच्छिन्द्रका खेलाडी शनिवार च्यासल पुगेका थिए । प्रतिद्वन्द्वी नआएपछि उनीहरू कहिले मैदानमा त कहिले प्यारापिटमा डुलिरहेको देख्न सकिन्छ ।

अर्को खेलमा आर्मीका खेलाडीले पनि फ्रेण्ड्ससँगको खेलका लागि लगनखेल मैदानमा विपक्षी टोलीकको प्रतिक्षा गरे भने खुमलाटारले पनि एनआरटीलाई च्यासल मैदानमा पर्खिरह्यो  । यद्यपि, प्रतिद्वन्द्वी नआएपछि मच्छिन्द्र, आर्मी र खुमलाटारले दोस्रो चरणको खेल नै नखेली अंक पाए । 



एन्फाका प्रवक्ता शाहले पनि फिफाको नियमअनुसार विपक्षी नआएपछि उपस्थिति टोलीले अंक पाएको बताए । एन्फा फिफाको नियमअनुसार नै चल्ने प्रवक्ता शाहले जिकिर गरे । तर, विपक्षी टोलीले फेरि पनि यही घटना दोहोर्याएमा भने के हुने भन्नेबारे उनीसँग जवाफ थिएन ।

एन्फाले कारबाही स्वरुप एनआरटीलाई १० हजार जरिवाना र खेलाडीको एमआरआई परीक्षणको खर्च पनि क्लबलाई नै तिराएपछि विवाद उत्पन्न भएको हो । एनआरटीले ती खेलाडीहरू १६ वर्षमुनि रहेको आफूसँग प्रमाण हुँदाहुँदै पनि एन्फाले कारबाही गरेको भन्दै बहिष्कार गरेको थियो । त्यसमा बाँकी तीन क्लबले पनि साथ दिएका हुन् । 



एन्फाले नखेल्ने क्लबहरूलाई कारबाही गर्ने भएपछि विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले पनि नखेल्ने क्लबलाई फिफाको नियमअनुसार नै कारबाही गर्ने स्पष्ट पारिसकेका छन् । यससँगै १० मध्ये चार क्लबले लिग बहिष्कार गर्ने भएपछि फिफाको सहयोगमा एन्फाले सुरु गरेको युथ लिगको भविष्य नै संकटमा पर्ने देखिएको छ ।

  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार २२:३६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया