logo-img

राजदूत नियुक्ति संविधान बमोजिम समावेशी बनाउँदै लैजान सरकार पूर्ण प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । 

बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरूलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोही बमोजिम काम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए 

उनले भने, ‘यसरी नेपाल सरकारको प्रतिबद्धता अनुसार नेपालको संविधानको मर्म र भावना अनुरूप समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै सबै प्रकारको नियुक्तिहरूमा समावेशी बनाउन नेपाल सरकार प्रतिबद्ध रही आएको छ । यस सिद्धान्तलाई राजदूत नियुक्ति गर्दा पनि यथोचित रूपमा सम्बोधन गर्दै लैजान नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको ब्यहोरा यस सम्मानित समिति समक्ष स्पष्ट पार्न चाहन्छु ।’

उनले नेपालको संविधानले राज्यका सबै क्षेत्रहरूलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमुनाको रूपमा रहेको दाबी समेत गरे । मन्त्री साउदले हाल मन्त्रालयमा रहेको १७ सहसचिवहरूमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनौट भई कार्यरत रहेको पनि समितिलाई जानकारी गराए । त्यसै गरी ५० उपसचिवहरू मध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाई थियो ।


मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेसी १, अपाङ्गता भएका व्यक्ति १ रहनुभएको विवरण पनि समिति समक्ष पेस गरे ।  





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १५:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया