logo-img

प्रधानमन्त्रीको विश्वास : गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउनेछ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वका अवसरमा बुधबार राति शुभकामना दिँदै उनले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका छन् ।

‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ,’  उनले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भू–भागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन् । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको गौरा मनाउने गरिन्छ । 






  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार ७:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया