logo-img

जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती मनाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्ती आज मनाइँदैछ । उनको जन्मजयन्तीको अवसरमा आज देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ ।​

जयपृथ्वीको जन्म ७ भदौ १९३४ मा बझाङमा भएको थियो । उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै, सिंहको प्राकृत व्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट १९६९ प्रकाशित भएको थियो । 

नेपालका दोस्रो गौतमबुद्धका नामले परिचित सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षराङ्कमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । 

जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जन गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् ।

अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १०७ वर्ष १९५८ पहिलो पटक गोरखापत्रको सञ्चालक तथा सम्पादक जयपृथ्वी बहादुर सिंहले प्रचलनमा ल्याएका थिए । त्यस्तै, एसियाका मुलुकलाई संस्कृत भाषामय बनाउन पनि जयपृथ्वीको विशेष इच्छा थियो ।

उनी जुनजुन भूमि टेक्न पुग्थे शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै उनी जहाँ–जहाँ जान्थे शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे ।  जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । त्यसैले उनले विश्व भ्रमण पनि गरे । 



सिंह जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे । पछि उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले । विश्व एकता उनको मुल मन्त्र थियो ।

संयुक्त राष्ट्रसङ्घ उनकै प्रभावले स्थापना भएको भनिन्छ । जयपृथ्वीले १९६२ मा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरीदेखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफैं प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोलेका थिए । सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्वी जीवन यात्रा पुस्तकमा उल्लेख छ ।



सोही समयमा जयपृथ्वीले निजामति सेवामा प्रवेश गर्दा परीक्षा लिने व्यवस्था मिलाए । जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो यो नै लोकसेवा आयोगको पहिलो अवधारणा हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उनको काम तथा प्रतिभासँग प्रभावित भई बेलायतका सप्तम सम्राट एडवर्डले जयपृथ्वीलाई मानार्थ ‘कर्णेल’को उपाधिले सम्मान गरेका थिए ।

न्यायका प्रतीक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदाहुँदै पनि जयपृथ्वीले आफ्नो बझाङ राज्य, नेपाल तथा भारतको मात्र चिन्ता लिएनन्, उनले ‘विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौँ, मानव–मानवबीचको वैमनस्यता कसरी अन्त गर्न सकिन्छ’ भन्ने विषयको खोज गर्न र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकमा मानवतावादी संस्था खोल्दै आफ्नो विचार ती संस्थामार्फत जनसमक्ष अपिल गरे ।

साइपाल, सम्पूर्ण बझाङ्गवासी, र मानवअधिकारकर्मीलाई सदाका लागी टुहुरो पार्दै भारतको बैंगलोरस्थित श्री जयभवनमा १ असोज १९९७ मा ६३ वर्षको उमेरमा उनको निधन भएको थियो ।  

  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १०:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया