logo-img

नेविसंघ अध्यक्षमाथि गम्भीर आरोप : विद्यार्थीमाथि हातपात गरेर आमरण अनशन ताेडाइयाे !
अध्यक्ष शेर्पा भन्छन्– आन्दोलनलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने कोसिस गरेको हुँ

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकले ४ भदौमा एक सूचना जारी गर्दै यसै वर्षबाट लागू हुने गरी इन्जिनियरिङ अध्ययनमा शुल्क वृद्धि गर्यो । संस्थानले इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धिको सूचना जारी गरेपछि सरोकारवाला निकाय यसको विरोधमा उत्रिए । संस्थानले निकालेको शुल्क वृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस नेपाल विद्यार्थी संघ (नेविसंघ) सभापति सुलभ चापागाईंले ५ भदौबाट अनशन सुरु गरे । 

पुल्चोक इन्जिनियरिङ कलेजमा सातौँ सेमेस्टरमा अध्ययनरत सभापति सुलभले नवौँ दिनमा मात्रै अनशन तोडेको थिए । इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन माग गर्दै उनी सत्याग्रहमा बसेको नवौँ दिनमा त्रिविका पदाधिकारी र विभिन्न विद्यार्थी संगठनका पदाधिकारीबीच पाँचबुँदे सहमति भएको थियो । तर, इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धि फिर्ताको माग राख्दै अनशन बसेका चापागाईंले आफूलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनशन तोडाएको आरोप लगाएका छन् । 

नेविसंघका अध्यक्ष शेर्पाले जबर्जस्ती अनशन तोडाएपछि उनले नेविसंघको क्याम्पस एकाइ सभापतिबाट राजीनामा गरेका छन् । राजीनापछि चापागाईंले सुरक्षाको मागसमेत गरेका छन् । चापागाईंले नेवि संघ अध्यक्ष शेर्पाले कुटपिट गरी जबर्जस्ती अनशन तोडाएको भन्दै सुरक्षाको माग गरेका हुन् ।

धम्कीपूर्ण गालीगलौजसहित भौतिक दुव्र्यवहार गरी अनशन तोड्न बाध्य पारेको र सोही कारण आफूले एकाइ सभापतिबाट राजीनामा गरेको उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकार, नेपाली कांग्रेस पार्टी र प्रहरी प्रशासनसँग सुरक्षाको मागसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा चापागाईंले ‘वीर अस्पतालको क्याबिन न. ३०९ मा धम्कीपूर्ण दबाब दिँदै आफ्ना साथी बबिन बस्नेत र रमेश केसीलाई कुटपिट गरी अनशन तोड्ने बाध्य गरेको’ आरोप लगाएका छन् । सो घटनाप्रति निराशा जनाउँदै असुरक्षित महसुस गरेको बताएका छन् । यसका साथै उनले हस्पिटलमा भएको घट्नापछि असुरक्षित महसुस गर्दै राति करिब १२ बजेतिर हस्पिटलको क्याबिनबाट निस्किएको उनले बताएका छन् । 



यता, केन्द्रीय अध्यक्ष शेपाले भने सभापति चापागाईंले सामाजिक सञ्जालमा भनेजस्तो आफूहरूबीच केही नभएको दाबी गरेका छन् । ‘सुलभ भाइले अनशन तोड्नुभन्दा अगाडि उहीबाट नै बारम्बार आन्दोलन चाँडोभन्दा चाँडो टुंग्याउन अनुरोध आएको थियो । सुलभले आन्दोलन गरिरहँदा नैतिक तथा भौतिक सहयोग केन्द्रीय समितिबाट रहेको थियो,’ अध्यक्ष शेर्पाले भने, ‘सुलभ भाइको जीवनरक्षाको जिम्मेवारी मेरो काँधमा थियो । उसको जीवनमाथि तलमाथि केही भए त्यसको दोष ममाथि आउँथ्यो । त्यसैले मैले दिनरात नभनी सम्बन्धित निकायमा पुगेर आन्दोलनलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने कोसिस गरेको हुँ ।’



सभापति चापागाईंको जीवनरक्षाका लागि आन्दोलनको पाँचौँ दिन बालुवाटार पुगेर प्रधानमन्त्रीको ध्यानकर्षण गराएको अध्यक्ष शेर्पा बताउँछन् । ‘हामीले गरेको निर्णयमा सुलभको माग संस्थानका डिन वा अन्य पदाधिकारीको हस्ताक्षर हुनुपर्छ भन्ने थियो । तर, त्यो कुरा असम्भव थियो । संस्थानका डिन सम्पर्कमा नआएका कारणले सुलभ भाइको मागलाई पूरा गर्न सकिएन,’ उनले भने । 

उनका अनुसार संस्थानका डिन कुनै छलफलमा सहभागी भएका थिएनन् । यता अनशनमा बसेका सभापति चापागाईंको स्वास्थ्यमा समस्या आइरहेको थियो । त्यसैले सभापति चापागाईंको जीवनरक्षाका लागि आइओईका डिन सम्पर्कमा नआएपछि संस्थानको निर्णय खारेजीबारे खोजी भयो । आइओई त्रिविअन्र्तगत रहेकाले संस्थानका निर्णय खारेज गर्ने अधिकार त्रिविका उपकुलपति र पदाधिकारीको हुन्छ । अध्यक्ष शेर्पाले उपकुलपतिसँग छलफल भएपछि सहमतिमा शुल्क वृद्धि फिर्ता भएको बताए । 

‘सुलभ भाइको स्वास्थ्यलाई मध्यनजर राखेर टियूका पधाधिकारीसँग हाम्रो सहमति भएको थियो । तर, सुलभ भाइको भित्री चाहना संस्थानका डिन वा पदाधिकारीको उपस्थिति हुनुपर्ने रहेछ, जुन कुरा मैले पछि मात्र थाहा पाएँ,’ अध्यक्ष शेर्पाले भने, ‘सहमतिपछि अनशन तोड्का लागि वीर अस्पताल गयौँ । अनशन कसको हातबाट तोड्ने भन्ने विषयमा छलफल भयो । उसको माग संस्थानका डिनले जुस खुवाउन आउनुपर्योे र सहमतिमा आइओईको डिनको हस्ताक्षर हुनुपर्छ भन्ने थियो । मैले ‘डिनलाई तिम्रो केही चिन्ता छैन, त्यसैले तिमीले अनशन तोड,’ भनेको हुँ ।’

घटनाको चौतर्फी विरोध भइरहँदा अध्यक्ष शेर्पाले भने संगठनभित्र आफूविरुद्ध चलखेल भएको बताए । साथै घटनाबारेमा अनुसन्धान भइरहेको र विषयको निचोड निकालेर पत्रकार सम्मेलन गर्ने तयारीमा आफू रहेको जनाए । ‘कुटपिट गरेको भनेको कुरा झुटो हो । संगठनभित्रका केही साथीहरूले यस मुद्दालाई राजनीतिकरण गर्न खोजिरहेका छन्,’ उनले भने । 

सभापति चापागाईंले भनेजस्तो नभएको दाबी गरिरहेका अध्यक्ष शेर्पाको भनाइ झुटो भएको घटनाका प्रत्यक्षदर्शी नेविसंघका एक विद्यार्थी नेताले जानकारी दिए । 

‘अस्पतालमा वार्ताको क्रममा म बाहिर बसेको व्यक्ति हो । वार्ताका क्रममा कोठाभित्रबाट चर्काचर्कीको आवाज आएको थियो,’ घटनाका प्रत्यक्षदर्शीले भने, ‘वार्तापछि ढोका खुलिसकेपछि अनशनकर्ता रोएर बसेको थियो । अनशनकर्ताले अध्यक्ष शेर्पालगायत व्यक्ति बाहिरिसकेपछि आफूमाथि हातपात भएको बताएका हुन् ।’

नेविसंघनिकट विद्यार्थी नेता भन्छन्, ‘आफूखुसी अनशन तोडेको व्यक्ति रोएर बस्दैन । अनशनकर्ताको सर्टको कलर समातेर अध्यक्ष शेर्पाले जुस खाएर अनशन तोड्न दबाब दिएका हुन् । साथीहरूमाथि कुटपिट भएको कुरा पनि सत्य हो ।’

‘केन्द्रीय सभापतिका हैसियतले निर्णय गरेर आएँ । त्यो निर्णय अध्यक्ष शेर्पाभन्दा जुनियर नेताले कार्यान्वयन गर्न नमान्दा उनलाई रिस उठेको हो । रिस उठेको समयमा अध्यक्ष संयमित हुन नसक्दा उक्त घटना घटेको हो,’ नेविसंघका विद्यार्थी नेता भन्छन्, ‘अध्यक्षको उक्त दिनको कदमप्रति हामी असन्तुष्ट छौँ । अनशनकर्ताले जुन उद्देश्यले अनशन बसेको हो, त्यसबारे पूर्ण तथा आधिकारिक निर्णय नआउन्जेल अनशन बस्ने मनसाय बनाएको थियो । तर, धम्कीपूर्ण दबाबले अनशन तोड्न पुग्यो ।’

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासहितका अधिकारीले पाँच विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको थियो ।

  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार १९:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया