logo-img

राजदूत थापाद्वारा संयुक्त राष्ट्रसंघका महासचिवससमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।   

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहदाको पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गर्नुभएको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उनको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । 

महासचिव गुटेर्रेसले नेपालले संयुक्त राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै  संयुक्त राष्ट्र सङ्घको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । सो अवसरमा राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै संयुक्त राष्ट्रसङ्घलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता दोहोर्याएका थिए ।

राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्र सङ्घीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गरे । शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औंल्याउँदै राजदूत थापाले संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताएका थिए ।

राजदूत थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुगेका थिए । 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार ११:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया