logo-img

समाज रूपान्तरण गर्नेबाहेक अरू कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी : विशेष रूपान्तरण’ अभियानको उद्‍घाटन गरेका छन् । 

अभियानको उद्‍घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जीवन नरहेको बताएका उनले अब नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्नेबाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका छन् । 

शनिबार बिहान उक्त अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्‍घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जीवनमा अबको बाटो नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।  

‘मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन । देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन,’ दाहालले भने ।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिबद्धता जनाए । त्यस्तै, प्रधानमन्त्री दाहालले क्रान्तिदेखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय, पाइला र पल जनताको पक्षमा बितेको दाबी गरे ।  

‘जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताको पक्षमा बित्यो । अब जनताले चाहेको सुशासन, सम्वृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘हिजो क्रान्तिको क्षणमा होस् या आजशान्तिको क्षणमा मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेका छन् ।’  



उनले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको दाबी पनि गरे ।

जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको दाबी गरे मात्र गरेनन् अभियानले माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्नेसमेत बताए ।   




  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १२:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया