logo-img

बेलायतले मागेभन्दा कम सङ्ख्यामा नेपाली नर्सको आवेदन, भाषा प्रमुख समस्या

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन माग गरिएको आवेदनमा नर्सको सङ्ख्या मागभन्दा कम आवेदन परेको छ । नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौताअनुसार गत ४ साउनमा बेलायतमा नर्स पठाउनका लागि आवेदन खुला गरिएको थियो । आवेदन समय २० जुलाईदेखि अक्टोबर १९ सम्म तोकिएको थियो ।

तर, नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन माग गरिएको आवेदनमा मापदण्ड पुगेका नर्सको सङ्ख्या मागभन्दा कम भएको हो । तर, योग्य आवेदन भने ७५ जनाको मात्रै परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाका अधिकृत धनन्जयकुमार शाहले ७५ जनाको आवेदनको मात्रै मापदण्ड पूरा भएको जनाकारी दिए । उनका अनुसार आवेदनका लागि ७७१ जनाले अनलाइन फारम भरेका थिए । तर, ७५ जनाले मात्रै आवेदनका लागि आवश्यक पर्ने मापदण्ड अनुसारको कागजात पेस गरेको छन् ।

तीन महिना लामो समय तोकेर आह्वान गरिएको आवेदनमा न्यून सङ्ख्यामा मात्र आवश्यक कागजातसहित आवेदन दिइएको छ । सुरुवाती चरणमा एक सय जना नर्सलाई बेलायत लैजाने गरी दुई सरकारबीच जी टू जी सम्झौता भएको थियो । तर, मागभन्दा कम आवेदन भएपछि समस्या समाधानका लागि पाइलट प्रोजेक्टपछि भाषा स्कोरबारे नेपालले बेलायत सरकारसँग थप छलफल गर्ने भएको छ ।

मागभन्दा कम आवदेन पर्नुमा भाषा स्कोर कारक भएको जानकारहरू बताउँछन् । पाइलट प्रोगाममा मागभन्दा थोरैको मात्र मापदण्ड पुगेपछि भाषा स्कोरबारे बेलायत सरकारसँग थप छलफल गर्ने तयारी भएको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका उपसचिव डम्बरबहादुर सुनुवारले जानकारी दिए । ‘भाषा स्कोरकै कारण योग्य, अनुभवी नर्सहरूले अवसर नपाउने देखिएकाले स्कोरबारे नेपाल र बेलायत पक्षबीच छलफल गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने । 

उपसचिव सुनुवारका अनुसार पाइलट प्रोग्राम सुरु हुनु अगावै बेलायत सरकारसँग मापदण्डमा भाषा स्कोर ६.५ या ६ लाई मान्यता दिन प्रस्ताव गरिएको थियो । तर, बेलायत पक्षले भने आफ्नो न्यूनतम मापदण्ड नै न्यूनतम ७ रहेको उत्तर दियो । भाषा स्कोरकै कारण पाइलट प्रोगाममै माग गरिएको भन्दा कम नर्स योग्य भएपछि यो प्रोजेक्टपछि भाषा स्कोरका विषयमा थप छलफल गर्नुपर्ने देखिएको उनी बताउँछन् । 



आवेदन दिन इन्टरनेशनल इङ्लिश ल्याङ्वेज टेस्टिङ सिस्टम (आईएलटीएस)  र अकुपेस्नल इंग्लिस टेस्ट (ओइटी) भाषालाई अनिवार्य गरिएको थयो । आईएलटीएसमा कम्तीमा सात स्कोर र लिखितमा कम्तिमा ६.५ ल्याएको हुनुपर्ने माग गरिएको थियो भने ओइटी गरेको हकमा भने रिडिङ, लिस्निङ र राइटिङमा ग्रेड बी ल्याउनुपर्ने आवेदनमा उल्लेख गरिएको थियो । 

उपसचिव सुनुवारका अनुसार नोभेम्बर १ पछि वैदेशिक रोजगार विभागले प्रारम्भिक सूची बनाएर बेलायत पक्षलाई सूची पठाइनेछ । स्वास्थ्य परीक्षण, बीमालगायतका विषयमा तयारी गरिनेछ । 
२०२४ अप्रिलको पहिलो हप्तादेखि छानिएका नर्सलाई बेलायत पठाउन सुरु गरिने छ । बेलायत गएपछि नर्सहरूको ३ महिनाको परीक्षणकाल हुन्छ । त्यो समयमा उनीहरूले ब्यान्ड ४ को जागिर खाने र तलब मासिक २२९९ पाउण्ड हुनेछ । ३ महिनापछि त्यहाँको परीक्षा दिनुपर्छ र पास भएमा बेलायत सरकारको नियमअनुसार न्यूनतम ब्यान्ड ५ को जागिर पाउने र त्यहाँको नर्सिङ काउन्सिलमा दर्ता हुनेछन् । 



नर्सहरूले बेलायतमा ५ वर्ष काम गर्न पाउनेछन् । सुरुमा ३ वर्षको अवधिका लागि नर्सहरू बेलायत जाने र ३ वर्षपछि २ वर्ष म्याद थपिनेछ । ५ वर्षपछि नेपाल फर्कनै पर्ने लिखित सम्झौतामा उल्लेख गरिएको छैन । तसर्थ त्यसपछिका व्यवस्थाहरू बेलायतको नियमअनुसार हुनेछ ।  

पाइलट प्रोजेक्टपछिको उपलब्धिपछि अन्य स्वास्थ्यकर्मीलाई पनि अवसर दिने विषयमा आन्तरिक छलफल भइरहेको उपसचिव सुनुवारले जानकारी दिए । नेपालमै स्वास्थ्यकर्मीहरूको अभाव हुनसक्ने चिन्ता बढिरहेको सन्दर्भमा उनले नेपालको आवश्यकता अनुसार मात्रै बेलायतमा थप नर्स पठाइने सहमति भएको बताए । 

‘अहिले यति नै सङ्ख्यामा नर्स पठाउने भन्नेबारे सम्झौता भएको छैन । बेलायतमा नर्सको माग धेरै गरिएको छ । तर, नेपालमा अभाव गराएर बेलायतमा नर्स पठाउने सहमति भएको छैन,’ उपसचिव सुनुवारले भने । 

नेपाली नर्सहरू माग गरेको बेलायतले नेपालमा नै नर्स उत्पादनका लागि सहयोग गर्ने सरकारले जनाएको छ । साथै, समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोगसमेत बेलायतले गर्ने भएको हो । 

  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १९:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया