logo-img

वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामबारे चर्चा

जनकपुरधाममा मधेस मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरुले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए । 

कार्यक्रममा जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधाम–अयोध्यासम्मको रेलसेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि वृक्षारोपणलगायत विविध विषयको कल्पना गरेका छन् । 

उपप्रमुख किशोरी साहले नगरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भन्दै यहाँ धेरै सुधारका काम भएको र अझै गर्नुपर्ने धेरै भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । मधेस प्रदेशअन्तर्गत खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेशलाई सहयोग गर्ने विषयमा संघीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रीकृत सोच हाबी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताइन् । 
    
कार्यक्रममा प्रा डा भोगेन्द्र झाले अतीत बिनाको योजना काम लाग्न नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गरे । उनले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन र मजबुत योजना बनाउनुपर्नेमा जोड दिए । यहाँ बनाइएका सडक तथा ढलहरु दीर्घकालीन रुपमा मजबुत नरहेको झाको भनाइ थियो । उनले शिक्षा बिना कुनै पनि योजना अधुरा हुने भन्दै शिक्षाका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

‘मधेसको निराशा भित्र लुकेको आशा’

दोस्रो सत्रका वक्ताहरूमध्ये पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीयता मधेसका लागि अपरिहार्य रहेको भन्दै यसको अर्को विकल्प नरहेको बताए । उनले संघीयता पक्ष शक्तिहरु विकास, निर्माणका पक्षमा भन्दा अन्य विवादमा फसेकाले समस्या देखिनुका साथै कतिपयमा असन्तुष्टि देखिएको धारणा राखे ।

कार्यक्रममा मधेस आन्दोलनका अगुवा विभा ठाकुर र सरोजकुमार मिश्रले जनताले सपनामा देखेको सङ्घीयता र अहिलेको सङ्घीयता फरक रहेको बताउँदै विकासका लागि सङ्घीयता मात्रै विकल्प नभएको बताए । उनीहरुले मधेस आन्दोलनका अगुवा युवाहरुको अवस्था अहिले कमजोर बन्दै जाँदा पनि मधेस केन्द्रित दललाई कुनै प्रभाव नपरेको गुनासो राखे । उनीहरूले अहिले युवा पुस्तामा नै सङ्घीयता प्रतिको आकर्षण घट्दै गएको बताए । राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा सङ्घीयता पक्षधर मधेस केन्द्रित दलहरु कमजोरी भएका बताए ।



तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठ पर्वको समाजिक तथा सांस्कृतिक महिमाको बारेमा बयान गरेका थिए  । छठ पर्वमा प्रकृतिको पूजा, प्रयोग र पद्धतिका साथै छठले बसाएको समाजिक सद्भाव, एकता, सहयोगलगायत विशेषताको विषयमा चर्चा गरे । लाल छठले देखाएको एकताबाट वर्तमान राजनीतिक दलका नेताले पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिए ।  



  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १४:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया