logo-img

दुर्गा प्रसाईंसँग किन डरायो एमाले ?
महेश बस्नेत अघि सारेर जोगिएला त एमालेको अस्तित्व ?

मानिस कि त राम्रो काम गरेर चिनिन्छ कि त नराम्रो काम गरेर । राम्रो काम गरेर प्रख्यात भइन्छ भने नराम्रो काम गरेर कुख्यात । कतिपय मानिसको स्वभाव हुन्छ, बदनाम हुनु, तर गुमनाम नहुनु । 

यो उखान नेपाली राजनीतिका एक पात्रमा ठ्याक्कै मेल खान्छ । ती पात्र हुन्, एमालेका युवा नेता महेश बस्नेत ।  विशेषगरी, एमालेको युवा संगठन युथ फोर्स (हाल युवा संघ)को अध्यक्ष हुँदा माओवादीको भ्रातृसंगठन वाइसिएलसँग भिडेर चर्चामा आएका बस्नेत देशकै प्रतिष्ठित पद ‘युवा तथा खेलकुदमन्त्री’सम्म भए । त्यसपछि कहिले पार्टीभित्रको आन्तरिक खिचातानीका कारण त कहिले अन्य पार्टीसँगको प्रतिस्पर्धामा हार व्यहोरेर झण्डै गुमनाम भएका महेश बस्नेत फेरि एकपटक चर्चामा आएका छन् । 

पछिल्लो समय उनी विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कारण चर्चामा आएका हुन् । कुनै समय एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र भएर एउटै पार्टीमा काम गरेका प्रसाईं र बस्नेत अहिले एकअर्काका चरम दुस्मनजस्तै देखिएका छन् । प्रसाईं महेश बस्नेतको परिचय ‘एक गुन्डा नाइके’बाट माथि उठ्न नसकेको आरोप लगाइरहेका छन् भने महेश बस्नेतले पनि ‘मेडिकल माफिया दुर्गा प्रसाईंले आफूसँग टक्कर लिन नसक्ने’ जिकिर गर्दै आएका छन् । 

यी दुई पात्र मंसिर ७ का लागि आ–आफ्नो शक्ति प्रदर्शनमा जुटिरहेका छन् । दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको छत्रछायामा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान’को ब्यानरमा मंसिर ७ गतेका लागि शक्ति प्रदर्शनको घोषणा गरे । लगत्तै आफ्नो अगुवाइमा महेश बस्नेतले पनि सोही दिन पारेर ‘महँगी, भ्रष्टाचार, अपराध र अराजकताविरुद्ध भन्दै युवा संघको ब्यानरमा विशेष कार्यक्रम आयोजना गरेका छन् । बस्नेतको अभियानलाई एमाले पार्टीले योजनाबद्ध ढंगले साथ दिइरहेको छ । 

यसो हेर्ने हो भने एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ र महेश बस्नेत पर्यावाची शब्दजस्तै लाग्छन् । पार्टीको भ्रातृसंगठन लामो समयदेखि एउटै व्यक्तिमा केन्द्रित हुनु आफैँमा उदेकलाग्दो विषय छ । युवा संघलाई अँगालेर बस्दा न बस्नेतको परिचय आमजनमानसमा ‘गुन्डानाइके’भन्दा माथि उठ्न सकेन भने बस्नेतकै हालीमुहालीका कारण एमालेको युवा संगठन युवा संघको परिचय राजनीतिकभन्दा बढी गुन्डागर्दीमै सीमित रहन पुग्यो । 

केपी ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने प्रसाईंले ओलीकै सल्लाहमा आफूले राजावादी अभियान सञ्चालन गर्दै आएको दाबी गर्दै आएका छन् । एमालेको बहालवाला केन्द्रीय सदस्यकै हैसियतमा प्रसाईंले झापामा पूर्वराजाको अभिनन्दन गरेका थिए । त्यही अभिनन्दनपछि एमालेले उनलाई कारबाही गरेर पार्टीको साधारण सदस्यबाट पनि बर्खास्त गर्यो । विवाद बढ्दै जाँदा प्रसाईंलाई युवा संघले कालोमोसो नै दलेपछि प्रसाईं एमालेप्रति थप आक्रामक बन्दै आएका छन् । 



केही राजावादी संगठन र वित्तीय संकटमा परेका सर्वसाधारणको समर्थन पाउने अभिलाषाका साथ प्रसाईं आफ्नो अभियानमा अघि बढेका छन् भने पार्टीका कार्यकर्तालाई प्रसाईंको पछि लाग्न एमालेले युवा संघको आवरणमा महेश बस्नेतलाई मैदानमा उतारेको छ । 

कतिपयले एउटा व्यक्तिसँग डराएर एमालेले सिंगो पार्टीपंक्ति परिचालन गरेर द्वन्द्व निम्त्याउन खोजेको भनेर पनि टिप्पणी गरेका छन् । प्रसाईं र बस्नेतबीचको व्यक्तिगत दुस्मनीलाई पार्टीगत संरक्षण दिएर एमालेले बचेखुचेको साख नै गिराउने त होइन भन्दै एमलेकै शुभचिन्तकले पनि चिन्ता व्यक्त गरेको पाइन्छ । 



  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार १९:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया