logo-img

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा १४ पुल निर्माण
फाइल तस्बिर

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । निर्माण सम्पन्न पुल ४० देखि ४ सय मिटर दूरीसम्मका रहेको उनले जानकारी दिए । 

हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए ।  

यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको खकुरेलले बताए । उनका अनुसार बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको १ सय ३१ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । 

‘सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन,’ कार्यालय दमकका प्रमुख खकुरेलले भने । उनले १० अर्ब १३ करोड लागतमा १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै ३ अर्ब ५० करोड रुपैयाँ बाँकी रहेको पनि बताए ।



सरकारले चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ मात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको कार्यालय दमकका प्रमुख खकुरेलको भनाइ छ । रासस 



  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ७:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया