logo-img

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : उपनेता तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् । उनले व्यवसायी प्रसाईंले गरेको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबीसमेत गरे । 

उनले भने, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौँ । पार्टीका कार्यकर्ताहरू त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुहुन्छ । हाम्रो पार्टीले जाऊ पनि भनेको छैन र नजाऊ पनि भनेको छैन । त्यस कारण हाम्रो नैतिक समर्थन हो ।’ 

उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरूले आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको बताए । उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गइ सम्बोधन गरेको र राप्रपाले नैतिक समर्थन गरेको बताए । उनले व्यवसायी प्रसाईंले राख्नुभएका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरूको समर्थन रहेको बताए । 

उनी भन्छन्, ‘हाम्रा राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो एजेण्डा बोकेर जसले यो हुनुपर्छ भन्छ, त्यसलाई हाम्रो नैतिक समर्थन रहन्छ । त्यसमा दुई मत छैन । दुर्गा प्रसाईंमात्रै होइन, जसले बोके पनि हाम्रो समर्थन रहन्छ । हाम्रो अब २७ गते कैलालीमा आमसभा भइरहेको छ, २८ गते महेन्द्रनगरमा कार्यक्रम भइरहेको छ । २९ गते जनकपुरमा आमसभा हुन्छ । यो लगातार चलिरहन्छ । पुस २७ गतेबाट दिन तोकेर कार्यक्रमका घोषणा हुन्छन् । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ । सहकार्य गर्न आउनुस् ।’

नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताए । उनले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताए । उनले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताए ।  





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार ११:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया