logo-img

संसदीय समितिले मगायो पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजात तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ । 

समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी प्रमाणित कागजात बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो । 

केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएसँगै समितिले नियुक्तिसम्बन्धी प्रमाणित कागजात मगाएको हो । 

बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । 

त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र यकिन गरी हाल साविक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कलसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना उपलब्ध गराउन र शवदाह गृह यथाशीघ्र सञ्चालनमा आउने गरी तयार गर्न पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले बताए । 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार २२:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया