logo-img

बालकुमारीमा प्रहरीकाे गाेलीबाट मारिएका वीरेन्द्र शाह को हुन् ?

अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका वीरेन्द्रबहादुर शाह परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण दक्षिण कोरिया जाने तयारीमा थिए । जसका लागि उनी दुई वर्षदेखि काठमाडौंमा बसेर भाषा कक्षा लिइरहेका थिए । तर, २३ वर्षीय वीरेन्द्रको कोरियामा रोजगारी गर्ने सपना पूरा हुन सकेन । 

शुक्रबार ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीको आन्दोलनका क्रममा प्रहरीसँगको झडपमा उनलाई गोली लागेको थियो । वीरेन्द्रको सपना पूरा गर्न उनका बुबा टेकबहादुर भारतमा रोजगारी गरिरहेका थिए । तर, प्रहरीको गोलीबाट छोरा मारिएको खबर सुन्दा उनलाई पत्यार लागिरहेको छैन ।   

यस्तै, वीरेद्रको मृत्युपछि उनकी आमा बेहोस छिन् । उनका बुबा टेकबहादुरसहित काका र केही परिवारजन शुक्रबार बेलुका काठमाडौंतर्फ लागेका छन् । शुक्रबार नै भएको प्रहरीसँगको झडपमा दैलेखको महाबु गाउँपालिका–६ का २१ वर्षीय सुजन राउतको पनि मृत्यु भएको छ । 

सुजनले गत वर्ष मात्र ‘ब्रेन ट्युमर’का कारण बुबा भक्तबहादुर रावतलाई गुमाएका थिए । उनी बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि भन्दै कोरिया जाने तयारीमा थिए । तर, आज भएको आन्दोलनमा उनी प्रहरीको निर्घात कुटपिटबाट सडकमै ढले ।

घाइते अवस्थामा रहेका सुजनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । तर, त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालको भनाइ छ । 

उनका अनुसार सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेका थिए ।    






  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २२:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया