logo-img

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं तहका डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको हो । 

महाप्रबन्धक पौडेलले भेराइवल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा खरिद ऐन विपरीत खरिद गरी भुक्तानी तिरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् । 

आयोगका अनुसार भीएफडी खरिदमा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन गरिएको थिएन । उपयोग नहुने सामाग्री खरिद गरेको, खरिद पश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको आयोगको अनुसन्धानले देखाएको छ । सञ्चालनमै नरहेको १६० किलोवाट भीएफडी प्यानेल (पार्ट–१) को २२ लाख ७८ हजार रुपैयाँ बराबरको भुक्तानी दिन लगाएर उद्योगलाई गैर कानुनी हानि पुर्‍याएको भन्दै पौडेल लगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको आयोग प्रवक्ता घिमिरेले बताए ।

आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (ड) को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसुरमा बिगो बराबरको जरिवाना कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर गर्न अदालतसमक्ष माग गरेको छ । 

उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गत ऐनको दफा २४ बमोजिम थप सजायसमेत हुनुपर्ने माग दाबी लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १८:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया