logo-img

जाडो याममा दमका रोगीले के गर्नुपर्छ ख्याल ?

जाडो याम लाग्ने बित्तिकै ज्येष्ठ नागरिक खास गरी दमको रोग भएकाहरूलाई असाध्यै गाह्रो हुन्छ । शारीरिक रूपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरूलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।

चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रूपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरूलाई गाह्रो हुने चिकित्सकको भनाई छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिने गरी बस्नु हुँदैन ।

‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी  घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा.पर्शुराम विष्ट भन्छन् ।

डा.विष्टका अनुसार सिओपिडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम हैनन् । बालबालिकाहरूमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम हैन । ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नु पूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’

श्वासनली साँघुरिँदै र श्वासप्रश्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जिनहरू नष्ट भएर फोक्सो दीर्घकालीन रूपमा फुल्ने कारणले दम हुने भन्दै डा.विष्ट भन्छन् ।

दुई वर्ष लगातार तीन महिनासम्म श्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागिरहने भए दम हुनसक्छ । यसको सुरुवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धूम्रपान गर्ने, दाउरा गुइँठा प्रयोग गर्ने, धुलो तथा धुवाँ र प्रदूषणमा काम गर्नेहरूलाई दम हुने सम्भावना अत्यधिक हुन्छ ।



बाल्यावस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरूलाई पछि गएर सिओपिडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरूको उपचार गर्नुपर्ने डा.विष्टको सल्लाह छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धित हुँदैन ।

सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरुको कारणले गर्दा दमजस्तै लक्षण देखा पर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुनः केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरु आइरहने, चिलाई रहने, दागहरू आउने, केही कुराहरूको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने बित्तिकै सिओपिडीको जाँच गर्नुपर्छ,’ उनले भने ।



बाल्यावस्था देखिने सिओपिडी उपचारपछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सिओपिडीहरु निको नहुनसक्छ । पहिला दम भएको हो कि होइन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभाबी औषधीहरु खानु हुँदैन । अत्यधिक धूम्रपान गर्ने, दाउरा गुइँठाहरू प्रयोग गर्ने, धुलो धुवाँ लगायत प्रदूषणमा काम गर्नेहरूलाई बढी मात्रामा सिओपिडी हुनसक्छ । तारन्तार श्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शङ्का गर्न सकिन्छ ।

मुटुको कारण हुन सक्छ दम

त्यस्तै पल्मोलोजिस्ट डा.विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरूलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटक पटक निमोनिया भएर छाती खराब भएका, टिबी भएकालाई दम हुनसक्छ । वंशाणुगत रूपमा पनि दम हुने सम्भावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्सरे, इसिजीहरु गरेर अरु रोगहरू छ छैन पहिचान गरेपछि पिएफटी (पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो हैन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ ।’ डा। विष्ट भन्छन् ।

दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ

दमको रोगीहरूलाई तान्ने औषधी रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधीले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धूम्रपान छोड्नुपर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरु हुन अगाडी निमोनिया हुन नदिन भ्याक्सिनहरू लगाउनुपर्छ ।

जथाभाबी अक्सिजन नलगाऊँ

प्रायः दमका पुराना रोगीहरूलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाह विना जथाभाबी अक्सिजन लगाउन नहुने डा। विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्र कति छ जाँच्नुपर्छ । ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६,९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरूमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गए पनि फोक्सोबाट रक्त नलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनुपर्छ ।’

त्यस्तै उनले मुटुको रक्त नलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरूलाई अक्सिजनको मात्र ८८ देखि ९२ भए पनि अक्सिजन लगाउनुपर्ने बताए । कहिलेकाहीँ भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ ।

रक्त नलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिले काहीँ कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटर सम्म पुर्‍याउन रोक्न सकिन्छ ।

नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरू उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरूलाई पनि हामीले उपचार गरी बचाएका छौँ । भेन्टिलेटरमा पुगेका बिरामीहरूलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ,’ डा. विष्ट भन्छन् ।

त्यसो त, नेपाल मेडिकल कलेजमा दमको बिरामीहरूको लागि हप्ताको चार वटा ओपिडी हुन्छ । सिओपिडी हो हैन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरूलाई वाईप्याक दिएर उपचार थाली उनीहरूलाई भेन्टिलेटरसम्म पुग्नबाट रोक्ने गरिन्छ ।

  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १५:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया