logo-img

जाडो मौसममा कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय
फाइल तस्बिर

जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुन्छ । यस्तो बानी तपाईँमा पनि छ भने तत्काल सुधार गर्नुहोस् ।

बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रूघाखोकीजस्ता रोग लाग्ने सम्भावनालाई कम गर्छ । 

जाडोमा कसरी स्वस्थ रहने ?   

खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

तौल नियन्त्रणमा राख्ने 



जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत भने हुन जरुरी हुन्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।

पर्याप्त निद्रा 



वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कन्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

छालालाई स्वस्थ राख्ने

जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छालामा मोस्चराइजर लगाइरहनुपर्छ । 

तातो पानी पिउने

जाडो मौसममा चिसो पानी नपिउनु नै उत्तम हुन्छ । तातो पानी पिउने गर्नाले रूघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी दुख्ने समस्या कम हुन्छ । जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ क। साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रीन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ । जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।

व्यायाममा जोड दिने 

जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ । यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ । रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पुर्‍याउँछ ।

न्यानो कपडा लगाउने

कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौँ र जाडोमा त्यति न्यानो कपडा नलगाइ बाहिर निस्कने गर्छौँ । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ । न्यानो कपडा नलगाए चिसो गढ्ने, रूघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।

–एजेन्सी  

  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ८:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया