logo-img

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिका–१ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भए पनि ६ सय २ जना राखिएका छन् ।    

जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए । वि.सं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ । उनले कारागारमा हाल ३८ विदेशी (भारतीय) सहित ६ सय २ कैदीबन्दी बस्दै आएका बताए ।

लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको चौकीदार चनरदीप यादवले बताए ।

ती कैदीबन्दीका लागि कारागारभित्र केवल २४  कोठा, १५  शौचालय, सात ह्याण्डपाइप (कल)  र छ धारा मात्रै छन् । यसले कैदीबन्दीको दैनिक जीवनलाई प्रभावित बनाएको छ । 

उनले कोठा अभावमा कठ्याङ्ग्रिँदो जाडोमा धेरै कैदीबन्दीलाईबाहिर सुत्नुपर्ने , शौचालय जान पालो कुर्नुपर्ने, नुहाउन र पानी लिनका लागि लाइनमा बस्नुपर्ने तथा खुला आकाशमुनि खाना खानुपर्ने बाध्यता रहेको गुनासो गरे ।

उनले रूघाखोकी, भाइरल ज्वरोलगायतका कैदीबन्दीको जीवन प्रभावित बनेको चौकीदार यादवले बताए । उनका अनुसार कारागारमा २० गम्भीर प्रकृतिका बिरामी र अन्य विभिन्न स्वास्थ्य समस्या भएका कैदीबन्दी ठाउँ अभावका कारण सँगै खान, बस्न, सुत्न बाध्य छन् ।



हिउँदमा शीतलहर, चिसो हावा र कठ्याङ्रिदो जाडोको प्रत्यक्ष मारमा पर्छ भने वर्षा सुरु भएपछि पानी चुहिने र जम्नुको साथै ठूलो वर्षापछि बाढीको चपेटमा समेत पर्ने गरेको जनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले जलेश्वर कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन नै बुझाएको बताइएको छ । 

जीर्ण भौतिक संरचना, क्षमताभन्दा बढी कैदीबन्दीको चाप, स्वस्थ खाद्यान्न तथा पानी आपूर्तिको अभाव, नियमित र स्तरीय स्वास्थ्य जाँचको अभाव, खेलकुद तथा मनोरञ्जनको अभावजस्ता समस्याका कारण विभिन्न रोगको समस्या बढ्दै गएको कारागार सुधारसम्बन्धी विगतमा गठित विभिन्न समितिको प्रतिवेदनमा उल्लेख छ ।



कारागार ऐन, २०१९ मा रोगी, थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ । रासस  

  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार १०:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया