logo-img

चिनियाँ टोलीसँग खेल्न तयार छौँ, यो खेल युवा खेलाडीलाई अवसर : प्रशिक्षक एनेस
‘क्षमतावान् खेलाडी विदेश जानु दुखद’

नेपाली युवा टोलीका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबल नयाँ खेलाडीलाई अवसर हुने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यू–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदैछ । 

सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन् ।  

उनले अधिकांश यू–२० उमेरसमूहका खेलाडी र एकजना यू–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताए । नेपालस्थित चीनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

अधिकांश खेलाडी विदेशिएका समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने प्रशिक्षक एनेसले बताए । साथै उनले नेपालबाट खेलाडी मात्र नभइ धेरै जना विदेश जाने गरेको र जुन निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको बताए ।

नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एसियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमितरूपमा खेलेका खेलाडी रहेको बताए । भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको एनेसले धारणा राखे ।  यद्यपि नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद् पक्ष रहेको उनको भनाइ छ ।

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ । मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भएपनि तयारी राम्रो भएको बताए । आफ्नो कप्तानी जिम्मेवारीमा उत्साहितभन्दा पनि खेलमा मात्र केन्द्रित भएको मनिषको भनाइ छ । 



खेलअघिको उद्‍घाटन समारोहमा विशेष कार्यक्रम हुनेछ । पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुति समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ । 

चिङ्घाईको छिङ हाई युसु युवाका १६ जना खेलाडीसहितको टोली नेपाल आएका हुन् । उक्त टोलीमा औसत २२ वर्ष उमेरका खेलाडी छन् । चिनियाँ टोलीका प्रशिक्षक बादेङ चेङलिनले नेपाली टोलीसँग खेल्नु आफूहरूका लागि अवसर र सांस्कृतिक आदानप्रदान गर्न खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रशिक्षक बादेङले नेपाली टोली राम्रो रहेको आफूले सुनेको उल्लेख गर्दै खेल रोमाञ्चक हुने विश्वास व्यक्त गरे ।   



चिनिया टोलीले यो खेलबाट दुई देशको सम्बन्धलाई राम्रो बनाउने विश्वास लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर साधारणतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । 

एन्फाले टिकट खरिद गर्ने दुईजना भाग्यशाली दर्शकका लागि काठमाडौंदेखि ल्हासा र ल्हासादेखि काठमाडौंको हवाई टिकटसमेत प्रदान गरिने जानकारी दिएको छ ।

  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १८:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया